काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दुःख व्यक्त गरेको छ ।
प्रारम्भिक विवरणअनुसार बाढीका कारण सडक तथा पुल, विद्युत् र सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना तथा सरकारी र सुरक्षा निकायका संरचनामा ठूलो क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीसमेत बाढीबाट प्रभावित भएका छन् ।
घटनाको पूर्ण विवरण आउन बाँकी रहेकाले मानवीय, भौतिक तथा आर्थिक क्षति अझ बढ्न सक्ने भन्दै नाइमाले चिन्ता व्यक्त गरेको छ ।
नाइमाले एक विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति सहानुभूति व्यक्त गरेको छ । साथै, खोज, उद्धार तथा राहत कार्यमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेको छ ।
भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा अझै जोखिम रहन सक्ने भन्दै नाइमाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नाइमाले सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायले जारी गरेका सुरक्षा सूचना र निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ ।
प्रभावित समुदायसँगै रहँदै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेको नाइमाले जनाएको छ । साथै, नाइमाले प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापना तथा सबैको सुरक्षाको कामना गरेको छ ।