भोटेकोशीको बाढीपहिरोले यात्रा जोखिमपूर्ण, काठमाडौंमै रोकिए लामो दूरीका सवारी

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोका कारण काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लातर्फ जाने सार्वजनिक यातायात प्रभावित भएको छ । सडकमा जोखिम बढेपछि ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई तत्कालका लागि रोक लगाएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार बाढीपहिरोका कारण सडक यात्रा जोखिमपूर्ण बनेपछि काठमाडौंमै सवारीसाधन रोकिएको छ ।

पृथ्वी राजमार्ग हुँदै चितवन, पोखरा, गोरखा, लमजुङ र धादिङलगायत पश्चिमतर्फ जाने तथा पासाङल्हामु राजमार्ग हुँदै नुवाकोट र रसुवातर्फ जाने सार्वजनिक सवारीसाधनलाई काठमाडौंमै रोकिएको प्रहरीले जनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण सडक तथा आसपासका क्षेत्रमा थप क्षति हुन सक्ने जोखिम रहेकाले यातायात सञ्चालनमा रोक लगाइएको हो । सडकको अवस्था सामान्य नभएसम्म यात्रु तथा चालकलाई अनावश्यक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।

साथै, सम्बन्धित निकायबाट जारी हुने सुरक्षा सूचना तथा निर्देशन पालना गर्न पनि यात्रु र चालकलाई अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *