भदौ ९ देखि नाडा अटो शो, ‘मेक इन नेपाल’देखि ४६ ब्रान्डसम्मको आकर्षण

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको बहुप्रतीक्षित प्रदर्शनी ‘नाडा अटो शो २०२६’ को तयारी पूरा भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा १८औँ संस्करणको अटो शो आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदैछ ।

यसपटकको अटो शो केवल सवारी साधनको प्रदर्शनीमा सीमित नहुने आयोजकको भनाइ छ । नाडाको ५०औँ वार्षिकोत्सवको अवसरसमेत पारेर आयोजना हुन लागेको प्रदर्शनीमार्फत नेपाली अटोमोबाइल क्षेत्रको बदलिँदो स्वरूप, स्वदेशी उत्पादनको सम्भावना र अर्थतन्त्रमा यस क्षेत्रको भूमिकालाई प्रस्तुत गर्ने तयारी गरिएको छ ।

अटो शोको प्रमुख आकर्षणका रूपमा ‘मेक इन नेपाल’ अभियानलाई अघि सारिएको छ । नेपाली इन्जिनियरले स्वदेशमै विकास गरेको यात्री स्कुटरसहित स्वदेशी ब्रान्डका ब्याट्री, लुब्रिकेन्ट्स तथा विभिन्न अटोमोबाइल कम्पोनेन्ट प्रदर्शनीमा राखिनेछन् ।

यसले लामो समयसम्म विदेशी ब्रान्डका तयारी सवारी साधनमा निर्भर रहेको नेपाली अटो बजार विस्तारै एसेम्बलिङ तथा स्थानीय उत्पादनतर्फ अघि बढिरहेको संकेत गर्ने आयोजकको अपेक्षा छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यसपटक नेपालमै एसेम्बल भएका दुईपांग्रे तथा चारपांग्रे सवारी साधनलाई विशेष प्राथमिकता दिइनेछ । पछिल्लो समय सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै नेपालमा आधा दर्जनभन्दा बढी एसेम्बलिङ प्लान्ट सञ्चालनमा आइसकेका छन् ।

स्थानीय रूपमा उत्पादन तथा एसेम्बल भएका सवारी साधनप्रति उपभोक्ताको विश्वास बढाउनु पनि प्रदर्शनीको महत्वपूर्ण उद्देश्य रहेको नाडाले जनाएको छ । स्थानीय उत्पादन विस्तार हुँदा रोजगारी सिर्जना हुनुका साथै सवारी आयातमा बाहिरिने ठूलो मात्राको वैदेशिक मुद्रा समेत बचत हुने भएकाले यसलाई राष्ट्रिय अर्थतन्त्रसँग जोडेर प्रस्तुत गरिने भएको छ ।

४६ सवारी ब्रान्डको सहभागिता

नाडा अटो शोमा कुल ४६ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन् । त्यसमध्ये १९ वटा चारपांग्रे, १० वटा दुईपांग्रे र १७ वटा लाइट कमर्सियल भेहिकल ब्रान्ड रहेका छन् ।

सवारी साधनबाहेक अटोमोबाइलसँग सम्बन्धित पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स र ब्याट्रीलगायतका सामग्रीका लागि ७५ भन्दा बढी स्टल रहनेछन् । यसबाट सवारी साधनदेखि त्यससँग सम्बन्धित विभिन्न उत्पादन तथा सेवाहरू एउटै प्रदर्शनीस्थलमा उपलब्ध हुनेछन् ।

गाडी खरिददेखि कर्जासम्मको सुविधा

अटो शोमा सवारी साधन खरिद गर्न चाहने उपभोक्तालाई वित्तीय तथा प्राविधिक सेवा समेत एउटै थलोबाट उपलब्ध गराउने तयारी गरिएको छ ।

विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धी ब्याजदर र तत्काल कर्जा स्वीकृतिको सुविधासहित सहभागिता जनाउनेछन् । यसले उपभोक्तालाई सवारी साधन छनोटसँगै कर्जा तथा बिमासम्बन्धी प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

यसपटकको नाडा अटो शोले नयाँ सवारी साधन तथा प्रविधि सार्वजनिक गर्ने मात्र नभई नेपालमा विकसित हुँदै गएको स्थानीय उत्पादन, एसेम्बलिङ उद्योग र अटोमोबाइल व्यवसायको समग्र अवस्थालाई समेत उजागर गर्ने आयोजकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *