एक्स वानको सफल उडानसँगै विद्युतीय हवाई यातायातमा नयाँ उपलब्धि

काठमाडौं । अमेरिकी स्टार्टअप हार्ट एरोस्पेसले निर्माण गरेको ‘एक्स वान’ले सफल परीक्षण उडान गरेसँगै विद्युतीय हवाई यातायातको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । कम्पनीका अनुसार यो हालसम्म परीक्षण गरिएको विश्वकै ठूलो प्योर इलेक्ट्रीक विमान हो ।

अगस्ट १२ मा माथिल्लो न्यूयोर्कस्थित प्ल्याट्सबर्ग अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो परीक्षण उडान गरेको एक्स वान २७ मिनेटसम्म आकाशमा रहेको थियो । २५ हजार पाउण्डभन्दा बढी तौल रहेको विमानले परीक्षणका क्रममा १ हजार १०० फिट उचाइ हासिल गरेको कम्पनीले जनाएको छ ।

१०६ फिटको पंखाको चौडाइ र ७६ फिट लम्बाइ रहेको एक्स वानले उडानका क्रममा १ मेगावाटभन्दा बढी शक्ति प्रदान गरेको थियो । उक्त परीक्षण उडानमा प्रयोग भएको विद्युत्को लागत ५ डलर अर्थात् करिब ७६० रुपैयाँ मात्र परेको कम्पनीको दाबी छ ।

 

हार्ट एरोस्पेसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एन्डरस फोसलोण्डले एक्स वानको उडानले व्यावसायिक एयरलाइनको स्तरमा विद्युतीय उडान सम्भव रहेको प्रमाणित गरेको बताएका छन् । उनका अनुसार विद्युतीय प्रविधिको प्रयोगले हवाई यातायातको अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्नेछ ।

उनले विद्युतीय विमानमार्फत भविष्यमा यात्रुका लागि हवाई भाडा उल्लेख्य रूपमा घटाउन सकिने तथा घरनजिकै रहेका साना विमानस्थलबाट समेत सफा र सुलभ हवाई सेवा सञ्चालन गर्न सकिने बताएका छन् ।

हार्ट एरोस्पेसले एक्स वानलाई आफ्नो आगामी हाइब्रिड विद्युतीय प्रोप विमानको प्रविधि परीक्षणका लागि प्रयोग गरिरहेको छ । कम्पनीले विकास गरिरहेको उक्त हाइब्रिड विमानले फुल ट्यांकी र ब्याट्रीको सहायताले ३० जना यात्रु तथा तिनको सामानसहित ५०० माइलसम्म यात्रा गर्न सक्ने जनाएको छ ।

त्यस्तै, पूर्ण रूपमा बिजुलीमा सञ्चालन गर्दा हाइब्रिड विमानले १२५ माइलसम्मको दूरी तय गर्न सक्ने र ब्याट्री पुनः चार्ज गर्न करिब ३० मिनेट लाग्ने कम्पनीको दाबी छ ।

कम्पनीले हाइब्रिड विमानको प्रकार प्रमाणीकरण सन् २०३१ सम्ममा हासिल गर्ने लक्ष्य राखेको छ । त्यसअघि मुख्य प्रविधि, एरोडायनामिक्स तथा उडान कार्यसम्पादनको परीक्षण र प्रमाणीकरणका लागि एक्स वानको प्रयोग गरिनेछ ।

हार्ट एरोस्पेसले लस एन्जलसस्थित आफ्नो पाइलट उत्पादन प्लान्टमा पहिलो प्रि–प्रोडक्सन ईएस–३० हाइब्रिड विमानको विकाससमेत सुरु गरिसकेको जनाएको छ । उक्त विमानको उडान परीक्षण सन् २०२८ मा गर्ने तयारी छ ।

कम्पनीका अनुसार युनाइटेड एयरलाइन्स, एयर क्यानाडा र जेएसएक्सले ईएस–३० हाइब्रिड विद्युतीय विमानमा रुचि देखाइसकेका छन् । कम्पनीले यसका लागि ९.४ अर्ब डलर बराबरको ग्राहक प्रतिबद्धता प्राप्त भइसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *