काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। यसको प्रभावले देशभर साधारणतया बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा समेत चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
रातिको समयमा देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ।
राति हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।