काठमाडौं । भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका १२ वटा इलेक्ट्रीक स्कुटर प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । भारतीय इलेक्ट्रीक स्कुटरहरू वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा अनधिकृत रूपमा सञ्चालन भइरहेको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भदौ ५ गते अपराह्न करिब ४ बजे गरिएको कारबाहीका क्रममा ती स्कुटर नियन्त्रणमा लिइएको हो । प्रारम्भिक विवरणअनुसार स्कुटरहरू भन्सार छली चोरी पैठारीमार्फत नेपाल ल्याइएको पाइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका स्कुटरहरूको कुल अंकित मूल्य ९ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ । भन्सार छली गरी भित्र्याइएका सवारीसाधनमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरीले ती स्कुटर वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धानपछि स्कुटर नेपाल भित्र्याउने तथा प्रयोग गर्ने सम्बन्धमा आवश्यक कारबाही अघि बढाइने जनाएको छ ।