चिनियाँ प्रिमियम अटोमोबाइल ब्रान्ड होङ्छीले नेपालमा नयाँ विद्युतीय एसयूभी ई–एचएस ४ लन्च गरेको छ । नाडा नेपाल मोबिलिटी एक्स्पो २०२६ को दोस्रो दिन बुधवार ‘होङ्छी ई–एचएस४’ नेपाली बजारमा सार्वजनिक गरिएको हो ।
नेपालमा होङ्छीको आधिकारिक वितरक विशाल ग्रुपअन्तर्गतको एडभान्स्ड अटोमोबाइल्स प्रालि हो । कम्पनी नेपालमा रेनोको पनि आधिकारिक वितरकका रूपमा रहेको छ ।
ई–एचएस४ मा ६७.३ किलोवाट–घण्टा क्षमताको ब्याट्री र १६० किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ । मोटरले २४० न्युटन–मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । एकपटक पूर्ण चार्ज गरेपछि यसले ४६० किलोमीटरसम्म यात्रा गर्न सक्ने दावी गरिएको छ ।
ई–एचएस४ मा फास्ट चार्जिङ सुविधा पनि रहेको छ । कम्पनीका अनुसार यसको ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करीब २० मिनेटमा चार्ज गर्न सकिने बताइएको छ । यसमा ३.३ किलोवाटसम्म विद्युत् आपूर्ति गर्न सक्ने भेहिकल–टु–लोड (भी२एल) सुविधा पनि छ । सुरक्षातर्फ ई–एचएस४ मा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ असिस्ट, लेन डिपार्चर वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड–स्पट डिटेक्सन तथा ३६० डिग्री क्यामेराजस्ता सुविधा रहेको जानकारी दिइएको छ । यसमा चालक निगरानी प्रणाली र लाइफ–डिटेक्सन राडार प्रणालीसमेत उपलब्ध छ ।
ई–एचएस४ को लम्बाइ ४ हजार ५२० मिलिमीटर, चौडाइ १ हजार ८७३ मिलिमीटर र उचाइ १ हजार ६४७ मिलिमीटर छ । यसको बुट स्पेस ३९३ लिटर रहेकोमा पछाडिका सिट फोल्ड गर्दा १ हजार ३०० लीटरसम्म विस्तार गर्न सकिने कम्पनीले बताएको छ ।
नेपालमा ई–एचएस४ को मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नाडा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अफरअन्तर्गत यो गाडी ५७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।