ईभी मर्मतमा दक्ष जनशक्ति तयार गर्न चीन पुगे ३० नेपाली अटो मेकानिक्स

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बजार विस्तार भइरहेका बेला दक्ष प्राविधिक जनशक्ति विकासमा समेत जोड दिन थालिएको छ । यही क्रममा नेपाल अटो मेकानिक्स व्यवसाय महासंघका ३० जना प्रतिनिधिले चीनको चोङछिङस्थित एसआरएमको उत्पादन कारखानाको अवलोकन गरेका छन् ।

एसआरएम तथा जोयलङ ब्रान्डका विद्युतीय सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक भीजी मोटर्सको पहल तथा एसआरएमको सहकार्यमा महासंघका प्रतिनिधिले साउन २६ र २७ गते फुलिङ, चोङछिङस्थित एसआरएम कारखानाको भ्रमण गरेका हुन् ।

भ्रमणका क्रममा नेपाली प्राविधिकले ईभीको उत्पादन तथा जडान प्रक्रिया, गुणस्तर नियन्त्रण, परीक्षण विधि र विद्युतीय सवारीमा प्रयोग हुने प्रविधिबारे प्रत्यक्ष जानकारी लिएका थिए । उनीहरूले एसआरएमका प्राविधिक विज्ञसँग अन्तरक्रिया गर्दै ईभीको सञ्चालन, मर्मतसम्भार र प्राविधिक समस्याबारे अनुभव आदानप्रदानसमेत गरेका थिए ।

भीजी मोटर्सका अनुसार कारखाना भ्रमणले नेपाली मेकानिक्सलाई सामान्य वर्कसपमा प्राप्त हुने अनुभवभन्दा बाहिर गएर ईभीको उत्पादन, इन्जिनियरिङ, परीक्षण तथा गुणस्तर नियन्त्रणका वास्तविक प्रक्रिया बुझ्ने अवसर दिएको छ ।

ईभीको बजार विस्तारसँगै प्राविधिक जनशक्तिको सीप विकासलाई प्राथमिकता दिइरहेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न स्थानमा मेकानिक्स मिट, ईभीसम्बन्धी प्राविधिक तालिम तथा कार्यस्थलमै पुगेर प्राविधिक समस्या समाधान गर्दै आएको जनाएको छ ।

कम्पनीका अनुसार ईभीसम्बन्धी प्राविधिक तालिमको पहिलो चरण पूरा भइसकेको छ भने दोस्रो चरणको प्रशिक्षण अघि बढाउने तयारी भइरहेको छ । दोस्रो चरणमा ईभी मर्मतसम्भारका लागि आवश्यक उपकरणको पहिचान तथा प्रयोग र प्राविधिक मर्मतका विषय समेटिनेछन् ।

विद्युतीय सवारीको बढ्दो प्रयोगसँगै अटो मेकानिक्सको परम्परागत भूमिकासमेत परिवर्तन हुँदै गएको छ । ईभी मर्मतका लागि विद्युतीय प्रणाली, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक उपकरण, डायग्नोस्टिक प्रविधि, सुरक्षा प्रणाली तथा सफ्टवेयरसम्बन्धी ज्ञान आवश्यक बन्दै गएको छ ।

भीजी मोटर्सका कमर्सियल हेड सजन श्रेष्ठले नयाँ प्रविधि भित्र्याउनु मात्र पर्याप्त नभई त्यसलाई सञ्चालन र मर्मत गर्न सक्ने दक्ष जनशक्ति तयार गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए ।

उनका अनुसार प्राविधिकलाई उचित तालिम र प्रत्यक्ष अनुभव उपलब्ध गराउँदा ग्राहकको विश्वास बढाउनुका साथै बिक्रीपछिको सेवा सुधार गर्न र नेपालको अटोमोबाइल क्षेत्रका जनशक्तिलाई भविष्यका प्रविधिका लागि तयार पार्न सहयोग पुग्नेछ ।

ईभीको प्रयोग र बजार विस्तार हुँदै जाँदा दक्ष प्राविधिकको माग अझ बढ्ने देखिन्छ । यसलाई ध्यानमा राख्दै भीजी मोटर्सले एसआरएम, नेपाल अटो मेकानिक्स व्यवसाय महासंघलगायत सरोकारवाला निकायसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *