इथानोल मिश्रणको तयारीसँगै उठ्यो सवारी अनुकूलताको प्रश्न

काठमाडौं । पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने सरकारी तयारी अघि बढिरहेका बेला यसको प्रयोगले पुराना सवारीसाधन, इन्धन प्रणाली र उपभोक्तामा पार्न सक्ने प्रभावबारे सरोकारवालाले प्रश्न उठाएका छन् ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले शुक्रबार आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ विषयक संवादमा सहभागी विज्ञ तथा अटोमोबाइल व्यवसायीले इथानोल मिश्रणलाई चरणबद्ध र पर्याप्त अध्ययनपछि मात्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

भारतको सेन्टर मोटर भेहिकल रुल्स टेक्निकल स्ट्याण्डिङ समिटका अध्यक्ष डा. बलराज भनोटले नेपालमा सञ्चालनमा रहेका सबै सवारी इथानोलयुक्त इन्धनका लागि तयार नभएको बताए । विशेषगरी पुराना सवारीमा उच्च मात्राको इथानोल प्रयोग गर्दा इन्जिन तथा रबर र इलास्टिक पार्टपुर्जामा समस्या आउन सक्ने उनको भनाइ छ ।

 

उनका अनुसार यस्तो इन्धनले इन्धन चुहावट, गाडी स्टार्ट हुन कठिनाइ तथा माइलेज घट्ने समस्या निम्त्याउन सक्छ । पेट्रोलमा पानी मिसिँदा इथानोल छुट्टिएर तल बस्ने ‘फेज सेपरेसन’को जोखिमसमेत रहने भएकाले इन्धन बिक्री केन्द्रमा नियमित गुणस्तर परीक्षण आवश्यक रहेको उनले बताए ।

भनोटले भारतमा समेत इथानोल मिश्रण क्रमशः बढाइएको उदाहरण दिँदै नेपालमा पनि सुरुवातमै उच्च प्रतिशत कायम गर्नुभन्दा चरणबद्ध रूपमा अघि बढ्न सुझाव दिए । साथै, इथानोल अनुकूल नभएका सवारीका लागि छुट्टै इन्धनको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

नाइमाका संस्थापक तथा अटोमोबाइल व्यवसायी आकाश गोल्छाले भने नेपालमा इन्धनको विकल्प सीमित गर्नुभन्दा उपभोक्तालाई ब्लेन्डेड र शुद्ध पेट्रोल दुवै उपलब्ध गराउनुपर्ने बताए ।

भारतबाट सन् २०१० पछि आयात भएका अधिकांश सवारी ई–१० इन्धनका लागि अनुकूल भए पनि नेपालमा भारतबाहेक अन्य मुलुकबाट पनि सवारी आयात हुने भएकाले सबै गाडी इथानोलयुक्त इन्धनका लागि उपयुक्त नहुने उनले बताए ।

नेपालमा उत्पादित इथानोलले हाल पेट्रोलको कुल मागको करिब ३.५ प्रतिशत मात्र धान्न सक्ने गोल्छाको भनाइ छ । घरेलु उत्पादन विस्तारका लागि इथानोलको मूल्य निर्धारण, दीर्घकालीन खरिद सम्झौता र गुणस्तर परीक्षणको स्पष्ट व्यवस्था आवश्यक रहेको उनले बताए ।

अटो पत्रकार संघ (जाम)का निवर्तमान अध्यक्ष सागर गजुरेलले इथानोल मिश्रणबाट पेट्रोलियम पदार्थको आयात घटाउन सकिने भए पनि पर्याप्त कच्चा पदार्थको उपलब्धता चुनौतीपूर्ण रहेको बताए ।

हाल इथानोल उत्पादनको प्रमुख स्रोत चिनी मिलबाट निस्कने मोलासिस रहेकाले यसको विकल्पमा नेपियर घाँस, पराल, मकैको ढोड र गहुँको छ्वालीजस्ता कृषि अवशेषको प्रयोगबारे अध्ययन गर्नुपर्ने उनले बताए ।

नेपाल आयल निगमले सुरुमा पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने तयारी गरेको छ । गजुरेलले यसको प्रभाव केवल आयात प्रतिस्थापनको दृष्टिले मात्र नभई उपभोक्ताको माइलेज, सवारीको अवस्था र इन्धनको मूल्यका आधारमा समेत मूल्यांकन गर्नुपर्ने बताए ।

सवारी परीक्षण कार्यालयका प्रमुख सुरेश श्रेष्ठले भने इथानोल मिश्रणले पेट्रोलियम पदार्थको आयात घटाउनुका साथै नेपालमा कृषि आधारित उद्योग विस्तारको अवसर सिर्जना गर्न सक्ने बताए । १० प्रतिशत इथानोल मिश्रण गर्न सके पेट्रोल आयात करिब १० प्रतिशतसम्म घटाउन सकिने उनको भनाइ छ ।

यद्यपि, इथानोल विदेशबाट मिश्रित अवस्थामा आयात गर्ने वा नेपालमै पेट्रोलमा मिसाउने भन्ने विषयमा लागत, गुणस्तर र आपूर्तिका आधारमा विस्तृत अध्ययन आवश्यक रहेको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *