नेपाली बजारमा सुजुकी भी-स्ट्रोम २५० मोटरसाइकलको मूल्य अस्वाभाविक रुपले वृद्धि भएको छ ।
नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले सुजुकी भी-स्ट्रोम मोटरसाइकलमा १० हजार रुपैयाँ मूल्य बढाएको हो ।
भी स्ट्रोमको नयाँ मूल्य ६ लाख १९ हजार ९०० रुपैयाँ कायम भएको कम्पनीले उल्लेख गरेको छ । यसअघि ६ लाख ९ हजार ९०० रुपैयाँ बिक्री हुँदै आएको थियो ।
नेपालमै एसेम्बल हुन थालेपछि भी स्ट्रको मूल्य १ लाख रुपैयाँ घटेर ६ लाखमा आएको थियो । तर, पछिल्लो समय यसको मूल्य २ पटक बढिसकेको छ ।
भी-स्ट्रोम २५० डबल पर्पस एडभेन्चर डिजाइनमा छ । यो सुजुकीकै भी-स्ट्रोम ६५० मोडलबाट प्रभावित भएर बनाइएको सानो क्षमताको मोटरसाइकल हो ।
सुजुकी भी-स्ट्रोम सिरिज ग्लोबल मार्केटमै निकै लोकप्रिय मानिने एडभेन्चर मोटरसाइकलमा पर्छ ।
यसमा २४८ सीसीको फोर स्ट्रोक, सिंगल सिलिण्डर, आयल कुल्ड, एसओसीएच, एफआइ इन्जिन रहेको छ ।
यो इन्जिनले अधिकतम २६.५ पीएसको पावर तथा २२.२ एनएक पिक टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीडको गियरबक्स छ ।
भी-स्ट्रोम २५० मा अगाडि टेलिस्कोपिक र पछाडि स्वीङ आर्म सस्पेन्सन सेटअप, १७ इन्च अलोय ह्वील, राउण्ड हेडल्याम्प, पूरा एलईडी लाइट, डबल डिस्कब्रेक, एबीएस, साइड स्ट्याण्ड सेन्सर, फ्रन्ट विन्डशिल्ड, डिजिटल कन्सोल जस्ता फिचरहरू छन्।