काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि प्रविधिको निगरानी कडा बन्दै गएको छ। सिसिटिभी क्यामेरा र अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन (एएनपिआर) प्रणालीको प्रयोग बढेसँगै कारबाहीमा पर्ने चालकको सङ्ख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो एक वर्षमा यी प्रविधिको सहायताले ३८ हजार ७७८ जना चालक कारबाहीमा परेका छन्।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडकमा ट्राफिक नियम उल्लङ्घन गरेर उम्किन खोज्ने सवारीसाधनलाई क्यामेरामार्फत पहिचान गरी जरिवाना तथा अन्य कानुनी कारबाही गरिँदै आएको छ।
कार्यालयको तथ्याङ्कअनुसार २०८२ वैशाखदेखि असार २० गतेसम्म एएनपिआर प्रणालीबाट १५ हजार ९५४ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, सोही अवधिमा सिसिटिभी क्यामेराको निगरानीबाट २२ हजार ८२४ जना चालकलाई कारबाही गरिएको छ।
ट्राफिक प्रहरीले एएनपिआर प्रणालीले सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै चालकको गतिविधिसमेत निगरानी गर्न सक्ने जनाएको छ।
प्रहरीका अनुसार आधुनिक प्रविधिको प्रयोगले ट्राफिक नियम कार्यान्वयनसँगै दुर्घटना अनुसन्धानलाई पनि सहज बनाएको छ। दुर्घटना गराएर फरार भएका सवारीसाधनको विवरण क्यामेरामा सुरक्षित रहने भएकाले दोषी सवारीको पहिचान र अनुसन्धान छिटो गर्न सहयोग पुगेको कार्यालयको भनाइ छ।