काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ले कालीगण्डकी करिडोरअन्तर्गत पर्ने कोरला सडकलाई पर्यटकमैत्री राजमार्गका रूपमा रूपान्तरण गर्ने सरकारको योजना रहेको बताएका छन्।
मुस्ताङमा आयोजित पर्यटन विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भैरहवादेखि कोरलासम्म फैलिएको सडक सञ्जालको स्तरोन्नतिलाई तीव्रता दिइने बताए। उक्त मार्गलाई अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने प्रमुख प्रवेशमार्गका रूपमा विकास गर्ने लक्ष्य सरकारको रहेको उनको भनाइ थियो।
उनले पर्यटन उद्योगलाई मुलुकको आर्थिक वृद्धिको प्रमुख आधारका रूपमा व्याख्या गर्दै मुस्ताङ–डोल्पा सडक आयोजनालाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए।
मन्त्री पौडेलले मुक्तिनाथ क्षेत्रमा उचाइका कारण पर्यटकमा देखिने स्वास्थ्य समस्याप्रति सरकार गम्भीर रहेको उल्लेख गरे। लेक लाग्ने जोखिम कम गर्न पर्यटकको बसाइ अवधि र स्वास्थ्य अवस्थालाई व्यवस्थित गर्ने उद्देश्यले ‘पर्यटक टाइम कार्ड’ प्रणाली लागू गर्ने विषयमा सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न उनले आग्रह गरे।