महिलाका लागि ‘ब्लु बस’ सेवा साउन १ देखि सञ्चालन हुँदै

काठमाडौं । महिलाको सुरक्षित सार्वजनिक यात्रालाई लक्षित गर्दै सरकारले आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो चरणमा उपत्यकाका तीन प्रमुख रुटमा आठ वटा बस सञ्चालनमा ल्याइने भएको हो।

सरकारको ‘शासकीय सुधारका १०० कार्यसूची’ अन्तर्गत समेटिएको यस कार्यक्रमलाई क्रमिक रूपमा देशभर विस्तार गर्ने योजना छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार प्रारम्भिक चरणपछि सातै प्रदेशमा सेवा विस्तार गर्दै कुल २५ वटा ‘ब्लु बस’ सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग आवश्यक स्वीकृति मागिसकेको छ। स्वीकृति प्राप्त भएलगत्तै साउन १ देखि सेवा सुरु हुनेछ।

पहिलो चरणमा लगनखेल–बुढानिलकण्ठ र थानकोट–नागढुङ्गा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रुटमा दुई/दुई वटा बस सञ्चालन हुनेछन्। यस्तै, चक्रपथमा चार वटा बस चलाइनेछ, जसमा दुई वटा क्लकवाइज र दुई वटा एन्टिक्लकवाइज दिशामा सञ्चालन गरिनेछ।

सरकारका अनुसार ‘ब्लु बस’ सेवा विशेषगरी महिलालाई सुरक्षित, सहज र विश्वसनीय सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले सुरु गर्न लागिएको हो।

यस्तै प्रकृतिको सेवा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको पहलमा चितवनमा सञ्चालन गर्ने प्रयास गरिएको भए पनि त्यो दीर्घकालीन रूपमा निरन्तर रहन सकेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *