काठमाडौँ।शुक्रबार परेको अविरल वर्षापछि पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न खोलामा आएको बाढीले जलविद्युत आयोजना, सडक, खानेपानी तथा पर्यटकीय संरचनामा व्यापक क्षति पुर्याएको छ।
साँझतिर तामागार खोला, नार खोला, नदु खोला, साङ्खोला र अधेरी खोलामा लेदो र गेग्रानसहितको बाढी आएपछि तामागार खोला लघु जलविद्युत आयोजनाको नहर बगाएको छ। यसका कारण वडा–५ हुकाम क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ।
बाढीले हुकाम–पेल्मा जोड्ने निर्माणाधीन सडक पनि भत्काएको छ। सडक निर्माणका लागि राखिएका निर्माण सामग्रीसमेत बाढीले बगाएको वडा–५ का अध्यक्ष टीकासाई घर्तीले जानकारी दिए।
यस्तै, वडा–६ डिम्मुरगैरामा रहेको तातोपानीको मुहान पनि बाढीको चपेटामा परेको छ। गाउँपालिका अध्यक्ष पुनीराज घर्तीका अनुसार पालिका र प्रदेश सरकारको लगानीमा तातोपानी क्षेत्रमा निर्माण गरिएका स्नान तथा अन्य पूर्वाधारमा समेत क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमानन्द पाण्डेका अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।