पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी रुपमा थालिएको पुनर्निर्माणकार्यसँगै अबको केही दिनमै पुनर्निर्मित ट्रयाकबाटै सवारी आवागमनको तयारी हुदै छ । यसका लागि पछिल्ला केही महिनादेखि पुनर्निर्माण तीव्रता रुपमा भइरहेको छ ।
उक्त राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा केही स्थानमा भने बर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
वर्षायामलाई मध्यनजर गर्दै पुरानै सडकमा खोलिएको ट्रयाकबाट असार दोस्रो साता अर्थात् केही दिनमै सवारीसाधन सञ्चालन गर्नेगरी तयारी भइरहेको कार्यालयका प्रमुख सुमन योगेशले बताए । चारसयबेँसी, बोक्सीकुना, कालढुङ्गा र डालाबेँसीको एउटा खण्ड तयार भइसकेको योगेशको भनाइ छ ।
त्यसपछि पटकपटकका वर्षाले सवारी सञ्चालन गर्न रोशी खोलामा अस्थायी रुपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो । हाल वर्षायामअघि सात मिटर उचाइसम्म सडक बनाएर ग्राभेल राख्न थालिएको छ भने वर्षापछि खोलाबाट करिब १० मिटर उचाइसम्म सडक बनाएर कालोपत्रे गरिने जनाइएको छ ।
कतिपय स्थानमा आरसिसी वालको फाउण्डेसन पूरा भई अन्य काम भइरहेको छ भने ट्रयाक निर्माण भएका सडकमा ग्राभेल हालेर सवारीसाधन सञ्चालनमा ल्याइने योगेशले बताए । उनका अनुसार अहिलेसम्म असार १५ गतेदेखिनै नयाँ ट्रयाकबाट आवागमनको तयारी भइरहेको छ । उक्त क्षेत्रमा भने आउँदो आर्थिक वर्षमा कालोपत्रको काम थालिने योगेशको भनाइ छ ।
क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक निर्माणको काम जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनर्निर्माण गरिरहेको छ । जाइकाले उक्त खण्डमा माटो भरेर बोल्डर (ठूला ढुङ्गा) राख्ने काम भइरहेको जनाइएको छ । वर्षाका बेला भने यस खण्डमा खोलाबाट सवारीसाधन चलाउनुपर्ने अवस्था नभएको योगेशले बताए । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरी कामअघि बढाइएको हो ।
सम्भावित जोखिम तथा निर्माणकार्यलाई मध्यनजर गर्दै हाल पनि साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म रातको समयमा आवागमनमा भने रोक लगाइएको छ । यसअघि रोशी खोलामा बाढी आउनेबित्तिकै अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदै आएको छ ।
अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ”, योगेशले भने । उनका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ ।
जापान सरकारको अनुदान सहयोगमा आव २०५३ र०५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।