भारतमा हिरो स्प्लेन्डर प्रो क्लासिकको नयाँ रेट्रो डिजाइनको पेटेन्ट दर्ता भएपछि अपग्रेड भएर आउने भएको छ ।
हिरो मोटोकर्पले भारतमा नयाँ मोटरसाइकल डिजाइनको पेटेन्ट दर्ता गराएपछि पेटेन्ट तस्बिरअनुसार सो नयाँ मोडलको डिजाइन पुरानो स्प्लेन्डर प्रो क्लासिकसँग मिल्दोजुल्दो देखिन्छ ।
पेटेन्ट तस्बिरअनुसार मोटरसाइकलमा गोलाकार हेडलाइट, पातलो फ्युल ट्याङ्की, लामो सिट, खुला साइड प्यानल र साधारण पछाडिको डिजाइन समावेश गरिएको छ। यसको सानो मडगार्ड, सिधा ह्यान्डलबार र समथर सिटले दैनिक प्रयोगका लागि सहज र उपयोगी बनाउने अपेक्षा गरिएको छ । यसको बनावट क्लासिक कम्युटर मोटरसाइकलजस्तै देखिन्छ ।
नयाँ डिजाइनमा ट्युबुलर ग्राब रेल, ट्विन शक एब्जर्बर, ५ स्पोक अलोय ह्विल र परम्परागत टेलिस्कोपिक फ्रन्ट फोर्क समावेश गरिएको छ ।
हिरो मोटोकर्पले पहिलो पटक स्प्लेन्डर प्रो क्लासिकलाई सन् २०१४ को अटो एक्स्पोमा पेश गरेको थियो। त्यसपछि यसलाई भारतीय बजारमा सानो क्याफे रेसरको रूपमा बिक्रीमा ल्याइएको थियो । सुरुमा यसमा ९७।२ सीसी क्षमताको एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको थियो, जसले करिब ८।२५ बीएचपी पावर र ८।०५ एनएमको टर्क उत्पादन गर्थ्यो ।
नयाँ मोडलमा १२४।७ सीसीको इन्जिन प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ । यही इन्जिन अहिले सुपर स्प्लेन्डर र ग्ल्यामरजस्ता मोडलमा प्रयोग हुँदै आएको छ। यसमा फ्युल इन्जेक्सन सिस्टम, आईथ्रीएस स्टार्ट स्टप सिस्टम, डिजिटल एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, अलोय ह्विल, ट्युबलेस टायर र कम्बाइन्ड ब्रेकिङ सिस्टमजस्ता फिचर समावेश हुन सक्ने अनुमान गरिएको छ ।