विद्युतीय सवारीसाधनको पहुँचलाई नेपालमा थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले पोखराको अमरसिंह मैदानमा ‘महामेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। कार्यक्रम आजदेखि असार १५ गतेसम्म ६ दिन सञ्चालन हुने जनाइएको छ ।
नेपालमा विद्युतीय मोबिलिटी ब्रान्डहरूको आधिकारिक वितरकका रूपमा स्थापित सीजी मोटर्सले आयोजना गरेको यस कार्निभलमा ग्राहकहरूले एकै स्थानमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा अत्याधुनिक प्रविधियुक्त सवारीसाधनहरू अवलोकन गर्न पाउने आयोजकले जनाएको छ। कार्यक्रममा जीएसी आयन, रिडारा तथा दायुनका लोकप्रिय विद्युतीय मोडलहरू पनि प्रदर्शनीमा राखिने भएको छ ।
व्यक्तिगत तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त विद्युतीय सवारीसाधनहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको यस मेलामा सहभागी ब्रान्डहरूमा विशेष नगद छुट, आकर्षक एक्सचेन्ज सुविधा, सवारी मूल्यांकनमा विशेष लाभ, सहज फाइनान्सिङ सहयोग तथा कार्यक्रम अवधिभर लागू हुने विशेष स्वामित्व प्याकेजहरू उपलब्ध गराइने सीजी मोटर्सले जनाएको छ ।
६ दिन सञ्चालन हुने यो कार्निभल व्यक्तिगत तथा व्यावसायिक प्रयोगका लागि विद्युतीय सवारीसाधन खरिद गर्ने योजना बनाएका ग्राहक, अटोमोबाइलप्रेमी, व्यवसायी तथा वातावरणमैत्री यातायाततर्फ आकर्षित व्यक्तिहरूका लागि विशेष अवसर हुने अपेक्षा छ। ग्राहकहरूले विभिन्न ईभी ब्रान्डहरूको विशेषता, प्रविधि तथा सुविधाबारे प्रत्यक्ष जानकारी लिदै टेस्ट ड्राइभको अनुभव समेत प्राप्त गर्न सक्नेछन्।
काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको ‘महामेला एक्सचेन्ज कार्निभल’ ले ग्राहकहरूलाई जिकै उत्साहीत बनाएको प्रतिक्रियापछि पोखरामा पनि कार्यक्रम आयोजना गरिएको सीजी मोटर्सले जनाएको छ ।