बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ।
आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ।
पाँच वर्षको निर्माण अवधि तोकिएको यो आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडलमा निर्माण भइरहेको छ, जसअन्तर्गत डिजाइन र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हुन्छ।
सुरुङमार्ग निर्माण सम्पन्न भएपछि आगामी ५ वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै यसको सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ।
सिद्धार्थ राजमार्गको यो खण्ड पहिरोका कारण अत्यन्तै जोखिमयुक्त मानिएकाले सुरक्षित यात्रा सुनिश्चित गर्न करिब ७ अर्ब रुपैयाँको लागतमा यो सुरुङमार्ग निर्माण गरिएको हो।