पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने ५० वर्ष पुरानो योजना अझैसम्म अधुरै रहेको छ।
वि.सं. २०३२ मा बसपार्कका लागि अधिग्रहण गरिएको २०५ रोपनी जग्गा निरन्तरको अतिक्रमणका कारण अहिले झण्डै ६० रोपनीमा मात्र सीमित हुन पुगेको छ।
हाल बसपार्क क्षेत्रमा फोहोरको दुर्गन्ध, जीर्ण पोल, धुलाम्मे सडक र खाल्डाखुल्डीका कारण पार्किङ तथा काउन्टरहरू चरम अस्तव्यस्त अवस्थामा रहेका छन्।
पोखरा उपत्यका नगर विकास समितिले १५ दिनभित्र अतिक्रमित संरचना हटाउन निर्देशन जारी गरेको छ भने महानगरपालिकाले वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन गरेर मात्र निर्माण अघि बढाउने जनाएको छ।
महानगर प्रमुख धनराज आचार्यले बसपार्कको गुरुयोजना बनिसकेकाले अतिक्रमित जग्गा खाली गराई सर्वदलीय सहमतिमा आधुनिक बसपार्क निर्माण प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।