युथ लिडरसिप प्रोग्राम २०२६/२७ को दोस्रो सत्र सम्पन्न

नेपाल अटोमोबाइल्स एसोसिएशन (नासा नेपाल) द्वारा वैशाख २६ मा आयोजित “युथ लिडरसिप प्रोग्राम २०२६/२७” अन्तर्गतको दोस्रो सत्र धोबीघाटस्थित सिद्धार्थ कटेज रेष्टुरेन्टमा सम्पन्न भएको छ।

इभेन्ट म्यानेजमेन्ट, ब्रान्डिङ, सोसल मिडिया, कम्युनिकेशन र मार्केटिङ विषयमा केन्द्रित यस कार्यक्रममा इन्जिनियरिङ, आईटी, पर्यटन र मोटरसाइकलिङ लगायत विभिन्न क्षेत्रका ३५ जना युवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका मुख्य प्रशिक्षण सत्रहरू यस प्रकार रहेका थिए:

  • टिम निर्माण तथा नेतृत्व विकास: कान्तिपुर भ्याली कलेजका प्रिन्सिपल तथा इरास्मस सर्टिफाइड ट्रेनर डा. अविनाश श्रेष्ठले नेतृत्व विकास, व्यक्तिगत क्षमता अभिवृद्धि र प्रभावकारी टिमवर्कबारे प्रशिक्षण दिनुभयो। उहाँले निरन्तरता र सहकार्यबाटै सफलता हासिल गर्न सकिनेमा जोड दिनुभयो।

  • इभेन्ट व्यवस्थापन र मार्केटिङ: ब्याडमिन्टन एसिया सर्टिफाइड अम्पायर तथा माइस इन्टरनेशनल सर्भिसका अध्यक्ष दीपक थापाले खेलकुद इभेन्ट व्यवस्थापन, स्पोन्सरशिप, स्वयंसेवक परिचालन र जोखिम व्यवस्थापनबारे व्यावहारिक ज्ञान बाँड्नुभयो।

  • ब्रान्डिङ र मिडिया रणनीति: खेल पत्रकार तथा खेलपाटी डटकमका प्रमुख सम्पादक राजु घिसिङले खेलकुद ब्रान्डिङ, डिजिटल मिडियाको प्रयोग र प्रभावकारी सोसल मिडिया व्यवस्थापनबारे प्रस्तुति दिनुभयो।

अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (FIM) को सहयोगमा सञ्चालित यस कार्यक्रमकी संयोजक कमला छेत्रीले सहभागीहरूलाई स्वागत गर्दै पहिलो सत्रको समीक्षा प्रस्तुत गर्नुभयो।

कार्यक्रमको सहजीकरण नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई तथा एडमिन एण्ड मोबिलिटी म्यानेजर किरण धितालले गर्नुभएको थियो।

नासा नेपालले यस कार्यक्रममार्फत मोटरस्पोट्र्स, सुरक्षित मोबिलिटी, पर्यटन र युवा नेतृत्व विकासका क्षेत्रमा सक्षम जनशक्ति तयार गर्ने लक्ष्य राखेको छ।

सहभागी युवाहरूले इभेन्ट व्यवस्थापन र कर्पोरेट कोलाबोरेशनसम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *