नेपालस्थित अमेरिकी वाणिज्य संघ (AmCham Nepal) ले अमेरिकाको नर्थ क्यारोलिनास्थित सार्लोटमा नेपाली डायस्पोरासँग लगानी केन्द्रित छलफल सम्पन्न गरेको छ।
स्ट्यागर्ड प्राइभेट इक्विटीसँगको सहकार्यमा आयोजित यस कार्यक्रममा बैंकिङ, रियल स्टेट र उद्यमशीलतामा आबद्ध नेपाली मूलका अमेरिकी विज्ञहरूको सहभागिता रहेको थियो।
छलफलको मुख्य उद्देश्य अमेरिकी पूँजी र विशेषज्ञतालाई नेपालको विकासका प्राथमिकताहरूसँग जोड्दै लगानीका नयाँ बाटाहरू पहिल्याउनु रहेको अमचाम नेपालले जनाएको छ।
अमचाम नेपालका कार्यकारी निर्देशक आमिर थापाले अमेरिकी लगानीमार्फत नेपालमा रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्यलाई सहयोग गर्न संस्था प्रतिबद्ध रहेको बताउनुभयो।
यसअघि अमेरिकी विशेष दूत सर्जियो गोरलगायत उच्च अधिकारीहरूसँग भएका भेटघाटले नेपालमा अमेरिकी लगानीका लागि सकारात्मक वातावरण बनेको कार्यक्रममा उल्लेख गरियो।
नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यापार र लगानीलाई अझ मजबुत बनाउन अमचामले अमेरिकाका अन्य प्रमुख शहरहरूमा पनि यस्तै अन्तर्क्रियाहरू विस्तार गर्ने योजना बनाएको छ।