नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्ना पूर्व अध्यक्ष एवं प्रतिष्ठित उद्योगी शेखर गोल्छामाथि भइरहेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुर्याएका व्यक्तित्वमाथि हुने अन्यायपूर्ण व्यवहारले समग्र निजी क्षेत्रको मनोबल गिराउने नाडाको ठम्याइ छ।
राज्यले गर्ने अनुसन्धान प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नाडाले अनुसन्धानका नाममा व्यवसायीलाई हठात् पक्राउ गर्ने कार्यले लगानीको वातावरण बिगार्ने उल्लेख गरेको छ।
यस्ता धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्तामा त्रास फैलाउने र सरकारको ‘लगानी मैत्री नेपाल’ को नारालाई समेत कमजोर बनाउने संस्थाको भनाइ छ।
नाडाले शेखर गोल्छालाई ‘पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन’ र दोषी प्रमाणित नभएसम्म उनको आत्मसम्मानको रक्षा गर्न सरकारसँग विनम्र अनुरोध गरेको छ।
प्रतिष्ठित व्यवसायीहरूमाथि हुने यस्ता अवरोधले निजी क्षेत्रलाई हतोत्साहित बनाउने भन्दै नाडाले सुरक्षित व्यवसायिक वातावरणको माग गरेको छ।
मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सम्मानित महसुस गराउँदै सरकारसँग हातेमालो गरेर अघि बढ्ने वातावरण बनाउन नाडाले जोडदार माग गरेको छ।