यातायात क्षेत्र सुधारका नयाँ सुझाव

सरकारी कार्यदलले नेपालको यातायात प्रणालीमा सुधार ल्याउन साना सवारी साधन विस्थापित गरी ठूला बस सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ।

अव्यवस्थित सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन प्रविधिको प्रयोग, पारदर्शी रुट परमिट र एकीकृत व्यवस्थापन प्रणाली आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा यातायात कार्यालयका सेवाहरू डिजिटल बनाउन र स्मार्ट ट्राफिक प्रणाली लागू गर्न जोड दिइएको छ।

दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधार, चालक प्रशिक्षण र जीपीएस ट्र्याकिङलाई अनिवार्य बनाउनुपर्ने कार्यदलको निष्कर्ष छ।

सार्वजनिक-निजी साझेदारी मोडलमार्फत ठूला परियोजना अघि बढाउन र विद्युतीय सवारी (ईभी) प्रवर्द्धनका लागि नीतिगत सहजता अपनाउन पनि सुझाव दिइएको छ।

यस्तै, लाइसेन्स प्रणालीलाई पूर्ण अटोमेसनमा लैजान र अनलाइन टिकटिङको व्यवस्था गरी यात्रुलाई सहजता प्रदान गर्नुपर्ने औंल्याइएको छ।

कार्यदलले संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारी बाँडफाँड गरी एकीकृत नियामक निकाय गठन गर्न समेत सरकारलाई सिफारिस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *