आन्तरिक पर्यटन र ‘राइड टुरिजम’ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘राइड टु क्याराभान डोल्पा’ सफलतापूर्वक सम्पन्न भएको छ।
हिमालयन राइडर्स चितवनको आयोजनामा भएको यो साहसिक यात्राले ६ दिनमा नेपालका ४ प्रदेश र १६ जिल्लालाई जोडेको थियो।
यात्रा चैत ११ गते भरतपुर उद्योग वाणिज्य संघबाट सुरु भई चैत १६ गते चितवन फर्केर समाप्त भएको हो।
टोलीले कुल १२५२ किलोमिटरको दूरी तय गरेको थियो।
यात्रामा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरू समेटिएका थिए।
मुख्य गन्तव्य डोल्पा राखिएको थियो, जहाँ टोली चैत १३ गते पुगेको थियो।
सडकमा अनुशासित ढंगले यात्रा गर्दै र फरक–फरक झण्डासहितको बाइक देखाउँदै राइडरहरूले सडक सुरक्षाको सन्देश समेत दिएको थियो।

हिमालयन राइडर्सका संयोजक अमृत जोशीका अनुसार नेपालका पहाडी र हिमाली क्षेत्रलाई मोटरसाइकलमार्फत चिनाउनु मुख्य लक्ष्य थियो र यात्रा लक्ष्यअनुसार सफल भएको छ।
यात्राका क्रममा डोल्पामा सरोकारवालाबीच ‘राइड टुरिजम’का सम्भावनाबारे छलफल पनि भएको थियो।
आयोजक मोहन केसीका अनुसार, ओझेलमा परेका पर्यटकीय स्थल उजागर गर्नु र सडक सुरक्षा सन्देश फैलाउनु मुख्य उद्देश्य पूरा भएको छ।
टोलीले चितवनबाट सुरु गरी तनहुँ, कास्की, पर्वत, बागलुङ, रुकुम पूर्व–पश्चिम, डोल्पा, जाजरकोट, सुर्खेत, सल्यान, दाङ, कपिलवस्तु, रूपन्देही र नवलपरासीका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गरेको थियो।
राइडमा २० वटा बाइकमा २३ जना सहभागी थिए। सहभागीहरूले नयाँ अनुभव पाउने र आन्तरिक पर्यटनको महत्व बुझ्ने अवसर प्राप्त भएको बताए।
भरतपुर महानगरपालिका, बागमती प्रदेश अटोमोबाइल एसोसिएसन (नासा बागमती) र चितवन अटोमोबाइल एसोसिएसनको सहकार्यमा यो राइड सम्पन्न भएको आयोजकले जनाएका छन्।
Post Views: 136