छल्दीटारी झोलुंगे पुल खुल्यो

इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुंगे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ।

सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको १४६ मिटर लामो सस्पेन्सन पुल आस्था–सम्झना जेभी अर्घाखाँचीले समयभन्दा पहिले सकाएको हो।

पुल निर्माणका लागि १ करोड ७१ लाख ८४ हजार ४ सय ६० रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

सुरुवातमा २०८२ भदौ ३ गते सम्झौता भइ २०८३ भदौ ३ भित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

तर पूर्वनिर्धारित समयभन्दा पहिले निर्माण सम्पन्न भएपछि स्थानीयवासी उत्साहित छन्।

पहिले वर्षायाममा खोलामा बाढी आउँदा विद्यार्थी, बालबालिका, वृद्धवृद्धा र बिरामीलाई आवतजावतमा कठिनाइ पर्ने गर्थ्यो।

पुल नहुँदा खोला तर्न जोखिम मोल्नुपर्ने र लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो।

पुल सञ्चालनमा आएपछि करिब आधा घण्टाको दूरी ५ मिनेटमै पुग्न सकिने भएको छ।

स्थानीयहरूले विद्यालय, स्वास्थ्य सेवा र व्यापार क्षेत्रमा सहजता बढ्ने अपेक्षा गरेका छन्।

लामो समयदेखि राजनीतिक दलहरूसँग माग गरिएकाे झोलुंगे पुल पूरा भएकाले स्थानीयवासी खुसी छन्।

पुलले दुई बस्ती मात्र जोड्ने छैन, तर क्षेत्रका नागरिकको जीवनस्तर सुधार्ने महत्वपूर्ण पूर्वाधारको रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *