अस्पताल र ट्रक व्यवसायीबीच सम्झौता

निजामती कर्मचारी अस्पताल र नेपाल ट्रक यातायात व्यवसायी महासंघबिच दुर्घटनामा परेका घाइतेहरूको उपचारलाई व्यवस्थित बनाउने उद्देश्यले एक महत्त्वपूर्ण उपचार सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा अस्पतालका मेडिकल डिभिजन प्रमुख डा. दिपक पौडेल र महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाले हस्ताक्षर गर्नुभएको छ।

आगामी २०८३ वैशाख १ गतेदेखि लागू हुने यस सम्झौताका मुख्य बुँदाहरू यस प्रकार छन्:

  • २४ घण्टा इमर्जेन्सी सेवा: दुर्घटनाका घाइतेलाई प्रारम्भिक २४ घण्टा प्रभावकारी आकस्मिक सेवा उपलब्ध गराइनेछ।

  • उपचारको जिम्मा: बिरामीको अवस्था हेरी आईसीयू, जनरल वार्ड वा एक्सटेन्डेड हस्पिटल सर्भिस मार्फत उपचार गरिनेछ।

  • खर्च व्यवस्थापन: उपचारको सम्पूर्ण खर्च ट्रक यातायात व्यवसायी महासंघले व्यहोर्नेछ। यसका लागि महासंघले धरौटी र आवश्यकता अनुसार पेस्की रकम उपलब्ध गराउनुपर्नेछ।

  • औषधि र उपकरण: शल्यक्रियाका लागि आवश्यक औषधि तथा इम्प्लान्टहरू अस्पतालले उपलब्ध गराउनेछ। अस्पतालमा नभएका सामग्री चिकित्सकको सिफारिसमा बाहिरबाट खरिद गरिनेछ।

  • बिमा र समन्वय: बिमा भुक्तानीका लागि अस्पतालले आवश्यक कागजात उपलब्ध गराई सहजीकरण गर्नेछ। साथै, उपचार प्रक्रिया सहज बनाउन अस्पतालले फोकल व्यक्ति तोक्नेछ।

महासंघका अध्यक्ष बानियाका अनुसार, यो सम्झौताले दुर्घटनामा परेका चालक तथा सह-चालकहरूलाई समयमै उपचार सुनिश्चित गर्न र उपचार प्रक्रियालाई थप छिटो र व्यवस्थित बनाउन ठूलो मद्दत पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *