काठमाडौंमा जिरो वेस्ट एक्सिबिशन आयोजना हुने

अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसरमा काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन २०२६’ आयोजना हुने भएको छ।

यो प्रदर्शनी चैत १६ र १७ गते नक्सालस्थित नेपाल कला परिषद् (नाफा) मा सञ्चालन हुनेछ।

कार्यक्रम रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान, विभिन्न रोटरी क्लब, रोटर्याक्ट र इन्टर्याक्ट समूहको संयुक्त आयोजनामा हुँदैछ।

शहरी विकास मन्त्रालयअन्तर्गतका निकाय, संयुक्त राष्ट्र संघ ग्लोबल कम्प्याक्ट नेपाल लगायत संस्थाले कार्यक्रमलाई सहयोग गरेका छन्।

“फोहोर घटाऔँ, पुनःप्रयोग गरौँ र पुनर्चक्रण अपनाऔँ” भन्ने सन्देशसहित प्रदर्शनी आयोजना हुन लागेको हो।

कार्यक्रमको मुख्य उद्देश्य रिसाइकल र अपसाइकलसम्बन्धी उद्यम प्रवर्द्धन गर्नु रहेको छ, र प्रवेश नि:शुल्क हुनेछ।

प्रदर्शनीमा फोहोर व्यवस्थापन, पुनःप्रयोग, पुनर्चक्रण र अपसाइकलसम्बन्धी नयाँ प्रविधि र अभ्यासहरू देखाइनेछन्।

यसले फोहोर कम गर्ने, स्रोतको सदुपयोग गर्ने र सर्कुलर अर्थतन्त्रलाई व्यवहारमा ल्याउने लक्ष्य राखेको छ।

प्रदर्शनीको उद्घाटन रोटरीका गभर्नर विनोद कोइरालाले गर्ने कार्यक्रम छ।

दोस्रो दिन “जिरो वेस्ट भविष्य” विषयमा प्यानल छलफल पनि आयोजना गरिनेछ, जसमा नीति निर्माता, व्यवसायी र वातावरणविद्हरू सहभागी हुनेछन्।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि र विशेषज्ञहरूको सहभागिता रहनेछ भने मिस नेपाल २०२३ श्रीच्छा प्रधानको विशेष सम्बोधन पनि हुनेछ।

आयोजकका अनुसार बढ्दो फोहोर समस्या, प्लास्टिक प्रदूषण र स्रोतको दुरुपयोग समाधानका लागि यस्तो कार्यक्रम आवश्यक छ।

यसले विशेषगरी शहरी क्षेत्रमा बढ्दै गएको फोहोर व्यवस्थापन समस्यामा सामूहिक पहलको सन्देश दिने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी हुन आयोजकले युवा, विद्यार्थी, उद्यमी र सर्वसाधारणलाई आग्रह गरेका छन्।

उनीहरूका अनुसार फोहोरलाई स्रोतमा रूपान्तरण गर्दै स्वच्छ वातावरण बनाउन सबैको भूमिका महत्वपूर्ण रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *