काठमाडौँ – सिप्रदी ट्रेडिङ प्रालिले नेपाल ट्रक यातायात व्यवसायी महासंघको आठौँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई सम्मान र बधाई दिएको छ।
गत पुस २७ गते सम्पन्न महासंघको वार्षिक साधारण सभा र महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो।
सोही अवसरमा आयोजित कार्यक्रममा सिप्रदीले नयाँ नेतृत्वलाई स्वागत गर्दै सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यातायात क्षेत्रको विकासमा निरन्तर योगदान दिन कम्पनी प्रतिबद्ध रहेको बताए।
उहाँले बीएस–६ मापदण्डले ल्याएका चुनौतीहरू सामना गर्न चालक र व्यवसायीलाई प्राविधिक तालिम र सचेतनाको आवश्यकता रहेकोमा जोड दिनुभयो।
सिप्रदीले देशभर मर्मत सम्भार सेवा सुदृढ गर्न प्राविधिक जनशक्ति उत्पादन र वर्कसप स्तरोन्नतिमा तयारी गरिसकेको जनाएको छ।
महासंघ अध्यक्ष बानियाँले स्वदेशी यातायात व्यवसाय संरक्षणका लागि नीति र नियमन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउँदै, विदेशी सवारी साधनको बढ्दो प्रयोगले स्वदेशी लगानी र रोजगारीमा असर परेको बताए।
नयाँ बीएस–६ सवारी साधनको प्रभावकारी प्रयोगका लागि निजी मेकानिक्सलाई तालिम, देशभर वर्कसप विस्तार र सुलभ जेनुइन पार्ट्स उपलब्ध गराउन सिप्रदीसँग आग्रह गरिएको थियो।
कार्यक्रममा व्यवसायी, सरकार र उपभोक्ताबीच समन्वय गरी नेपालको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने आवश्यकता पनि औंल्याइएको थियो।