भारतीय अटो कम्पनी टाटा मोटर्सले इलेक्ट्रिक सवारी बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउन सन् २०२६ भित्र तीन नयाँ विद्युतीय कार ल्याउने योजना बनाएको छ।
कम्पनीले प्रिमियम र किफायती दुवै सेग्मेन्ट लक्षित गर्दै नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
टाटाले ल्याउन लागेको तीन बहुप्रतीक्षित इभी मोडलमा सिएरा, अल्ट्रोज र अभिन्या रहेका छन्।
सिएरा इलेक्ट्रिक एसयूभी आधुनिक डिजाइन, उन्नत प्रविधि र लामो दूरीको ड्राइभिङ रेन्जसहित प्रिमियम बजारमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
लोकप्रिय ह्याचब्याक अल्ट्रोजको विद्युतीय संस्करण पनि कम्पनीले ल्याउने तयारी गरेको छ, जुन मुख्य रूपमा मध्यम वर्गका ग्राहकलाई लक्षित हुनेछ।
त्यसैगरी, नयाँ प्लेटफर्ममा आधारित अभिन्या अत्याधुनिक डिजाइन र नयाँ प्रविधिसहित आउने प्रिमियम इलेक्ट्रिक कारका रूपमा विकास भइरहेको बताइएको छ।
हाल टाटा मोटर्ससँग टियागो, टिगोर, पन्च, नेक्सन, कर्भ र ह्यारियरजस्ता छ वटा इलेक्ट्रिक मोडलको पोर्टफोलियो रहेको छ।
कम्पनीले २०२६ संस्करणको टियागो इभी पनि बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ।
टाटाका विद्युतीय सवारी नेपालमा पनि लोकप्रिय छन् र टियागो, पन्च, कर्भ र नेक्सन इभी नेपाली बजारमा बिक्री हुँदै आएका छन्।
फ्लिट सेवामा प्रयोग हुने टाटा एक्सप्रेस टी समेत नेपालमा ठूलो संख्यामा प्रयोग भइरहेको बताइएको छ।
नयाँ मोडल सार्वजनिक भएसँगै टाटा मोटर्सले दक्षिण एसियाली बजारसहित विश्वभरको इलेक्ट्रिक सवारी प्रतिस्पर्धामा आफ्नो स्थान अझ बलियो बनाउने लक्ष्य राखेको छ।
Post Views: 64