रणवाङ–दरवाङ सडक अलपत्र

म्याग्दी जिल्लाको बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत रणवाङ–दरवाङ खण्ड लामो समयदेखि निर्माण अधुरै हुँदा सडक परियोजना अलपत्र अवस्थामा पुगेको छ।

रणनीतिक रूपमा महत्वपूर्ण मानिएको यस सडकको ८ किलोमिटर खण्ड दुई वर्षभित्र स्तरोन्नति गर्ने लक्ष्यसहित करिब ६ वर्षअघि काम सुरु गरिएको थियो।

२०७६ जेठ ३१ गते पूर्वाधार विकास कार्यालय म्याग्दी र बिरुवा–क्याराभान निर्माण कम्पनीबीच करिब २२ करोड ५७ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो।

सम्झौताअनुसार काम २०७८ जेठमै सकिनुपर्ने भए पनि अहिले सम्म करिब ८७ प्रतिशत मात्र भौतिक प्रगति भएको जनाइएको छ।

गत वर्ष रणवाङ–तोलावाङ क्षेत्रमा करिब ३.३ किलोमिटर सडकमा डीबीएसडी प्रविधिबाट कालोपत्र गरिएको थियो।

ढाडखर्क र दरवाङ बजार आसपास पर्खाल तथा नाली निर्माणको काम अन्तिम चरणमा पुगेको भए पनि पछिल्ला महिनादेखि निर्माण कार्य लगभग रोकिएको छ।

सडक निर्माण ढिलो हुँदा यात्रुहरूले धुलो, जोखिमपूर्ण सडक र यातायात असुविधाको समस्या भोगिरहेका छन्।

स्थानीयका अनुसार निर्माण कम्पनीले सामग्री व्यवस्थापन, मजदुर परिचालन र उपकरण प्रयोगमा ढिलाइ गर्दा काम अघि बढ्न सकेको छैन।

निर्माण कम्पनीका प्रतिनिधिले भने नदीजन्य सामग्रीको अभाव, बजेट समस्या, कोरोना महामारी र प्राकृतिक विपद्का कारण काम ढिलो भएको बताएका छन्।

कम्पनीले छिट्टै मजदुर र उपकरण ल्याएर एक महिनाभित्र बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ।

यो सडक गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत निर्माण भइरहेको हो।

म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने मुख्य मार्ग भएकाले यसको निर्माणलाई स्थानीयले अत्यन्त महत्वपूर्ण मानेका छन्।

प्रदेश सरकारले यस वर्ष पनि परियोजनाका लागि बजेट विनियोजन गरेको भए पनि आर्थिक वर्षको धेरै समय बितिसक्दा वित्तीय प्रगति शून्य रहेको तथ्यांकले देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *