पेट्रोलमा इथानोल मिसाउन अनुमति

सरकारले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री गर्न पाउने कानुनी व्यवस्था लागू गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश’ जारी गर्दै उक्त व्यवस्था नेपाल राजपत्रमा प्रकाशित गरेको हो।

यस निर्णयको उद्देश्य स्वदेशी कच्चा पदार्थमा आधारित इथानोल उद्योगलाई प्रोत्साहन गर्नु, रोजगारी सिर्जना गर्नु र पेट्रोलियम पदार्थको आयात घटाउनु रहेको मन्त्रालयले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार नेपाल आयल निगमले प्रति लिटर पेट्रोलमा बढीमा १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री गर्न सक्नेछ। इथानोलको मिश्रण अनुपात परिवर्तन गर्ने अधिकार भने मन्त्रिपरिषद्‍लाई दिइएको छ।

इथानोलको गुणस्तर निर्धारण गर्ने जिम्मेवारी नेपाल गुणस्तर तथा नापतौल विभागलाई दिइएको छ। निगमले विभागले तोकेको मापदण्ड पूरा गरेको इथानोल मात्र खरिद गरेर प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

यो आदेश मन्त्रिपरिषद्ले यसअघि नै स्वीकृत गरेको थियो, जसलाई अब औपचारिक रूपमा लागू गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *