नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
फागुन २८ गते बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरेका हुन्।
सो अवसरमा चौधरीले उप्रेतीलाई सफल कार्यकालको शुभकामना दिँदै नाडाको संस्थागत विकास र अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान र मूल्य–मान्यताअनुसार संस्थालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।
उनले सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास र सम्बन्धित निकायहरूसँग सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
यसै क्रममा अध्यक्ष उप्रेतीले महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन्।
केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय पनि गरेको छ।
नाडाले आगामी दिनमा अटोमोबाइल क्षेत्रको विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप मजबुत बनाउँदै अघि बढ्ने जनाएको छ।
Post Views: 59