म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ।
आयोजनाको प्रवर्द्धक ठूलोखोला हाइड्रोपावर लिमिटेडले भौतिक संरचना, विद्युत्गृहमा उपकरण जडान तथा प्रसारण लाइन निर्माणको काम पूरा गरेको जनाएको छ। अहिले परीक्षण उत्पादन सुरु गरिएको छ।
आयोजना प्रमुखका अनुसार बाँध, विद्युत्गृह, पाइपलाइन, प्रसारण लाइन र अन्य उपकरण जडान कार्य सम्पन्न भइसकेको छ। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा परीक्षण उत्पादन भइरहेको छ।
२०७८ सालबाट निर्माण सुरु भएको यो आयोजना दुर्गम भौगोलिक क्षेत्रमा बनेको हो। यहाँ बाँध, डिसेन्डर, करिब २,९०० मिटर लामो मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन निर्माण गरिएको छ।
यो ‘रन अफ द रिभर’ प्रकारको आयोजना हो। फेदीदेखि बन्दीसम्म १४ वटा टावरसहित पाँच किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरिएको छ। उत्पादन भएको विद्युत् दाना–खुर्कोट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।
करिब तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा ७० प्रतिशत ऋण सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले लगानी गरेका छन्। बाँकी लगानीमध्ये २० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने योजना छ।
राहुघाट क्षेत्रमा यसअघि पनि केही जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ।
Post Views: 61