काठमाडौं – नेपालको लागि CFMOTO मोटरसाइकलको आधिकारिक तथा एकमात्र वितरक ऋषि ट्रेड सेन्टरले बहुप्रतिक्षित CFMOTO 250 Dual EFI मोटरसाइकल सार्वजनिक गरेको छ।
भव्य कार्यक्रममा मोटरसाइकल पारखी, चर्चित बाइकर, सामाजिक सञ्जालका इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा CFMOTO को अन्तर्राष्ट्रिय टोलीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कम्पनीका अनुसार एडभेन्चर शैलीका प्रवेशस्तरका मोटरसाइकलमध्ये लोकप्रिय मानिएको यो मोडल नेपाली बजारका लागि विशेष रूपमा ल्याइएको हो। कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिताले नेपाली बजारप्रति कम्पनीको प्रतिबद्धता झल्काएको बताइएको छ।
कम्पनीका प्रतिनिधिहरूले नेपालका विविध सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर मोटरसाइकल तयार गरिएको बताए। यसले राम्रो प्रदर्शन, टिकाउपन र बहुउपयोगिता प्रदान गर्ने विश्वास गरिएको छ।
यो मोटरसाइकल सहरका सडकदेखि अफरोड यात्रासम्म सहज रूपमा चलाउन मिल्ने गरी डिजाइन गरिएको छ। साहसिक यात्रा मन पराउने र बहुउद्देश्यीय प्रयोग खोज्ने चालकहरूलाई लक्षित गरेर यो मोडल तयार गरिएको कम्पनीले जनाएको छ।
मोटरसाइकलमा २४९ सीसी क्षमताको एक सिलिन्डर इन्जिन र इलेक्ट्रोनिक फ्युल इन्जेक्सन (EFI) प्रणाली जडान गरिएको छ। यसले राम्रो शक्ति, इन्धन दक्षता र सहज थ्रोटल प्रतिक्रिया दिने कम्पनीको दाबी छ।
यसमा २४५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, डिस्क ब्रेक र उन्नत ब्रेक प्रणाली रहेको छ, जसले विभिन्न सडक अवस्थामा सुरक्षित र सहज यात्रा गर्न मद्दत पुर्याउने बताइएको छ। साथै हल्का तर बलियो फ्रेमका कारण मोटरसाइकल चुस्त र टिकाउ रहेको कम्पनीको भनाइ छ।
कार्यक्रममा बाइकरहरूसँग अन्तरक्रिया, सञ्चारकर्मीहरूसँग संवाद तथा मोटरसाइकलको प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो। सहभागीहरूले नयाँ मोडल नजिकबाट अवलोकन गर्ने अवसर पाएका थिए।
नयाँ मोडल सार्वजनिकसँगै CFMOTO ले अन्तर्राष्ट्रिय स्तरको प्रविधि र आधुनिक डिजाइनका मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।
CFMOTO 250 Dual EFI को प्रारम्भिक मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ। यो मोटरसाइकल पोलार ह्वाइट, लाइम ग्रीन र टुन्ड्रा ग्रे गरी तीन रंगमा उपलब्ध हुनेछ।
CFMOTO विश्वभर चिनिएको मोटरसाइकल निर्माता कम्पनी हो। कम्पनीले उच्च प्रदर्शनका मोटरसाइकल, कृषि प्रयोजनका चारपांग्रे सवारी तथा पावरस्पोर्ट्स सवारी साधन उत्पादन गर्दै आएको छ। सन् २०२५ को पहिलो तीन त्रैमासिकमा कम्पनीले करिब २ अर्ब १० करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको जनाएको छ।