भारतबेन्ज सवारी बिक्री गर्दै आएको ओम्नी समूहले अब चिनियाँ विद्युतीय सवारी पनि बिक्री गर्ने भएको छ।
समूहले ओम्नी मोबिलिटी प्रालि मार्फत नेपालमा ईभी व्यापार सुरु गरेको जनाएको छ।
हाल ओम्नी मोटर्स प्रालि मार्फत भारतीय कमर्सियल सवारी भारतबेन्ज बिक्री गर्दै आएको कम्पनीले अब विद्युतीय कमर्सियल सवारी आयात र बिक्री गर्ने योजना बनाएको हो।
ओम्नी मोबिलिटीले चिनियाँ कम्पनी चेरी एन्ड वान्डा बस कम्पनी लिमिटेड र किटोन मोटर्सका विद्युतीय सवारी आयात गरेर नेपाली बजारमा बिक्री गर्ने बताएको छ।
अहिले नेपालमा चेरी वान्डाका ईभी बस जगदम्बा मोटर्स र शशिला मोटर्सले आयात गर्दै आएका छन्।
अब ओम्नी मोबिलिटी पनि बजारमा प्रवेश गरेपछि यो ब्रान्डका बस तीन कम्पनीले आयात गर्ने भएका छन्।
सन् २०१५ देखि डिमलर इन्डिया कमर्सियल भेहिकल्सले उत्पादन गर्ने भारतबेन्जका सवारीको आधिकारिक बिक्रेता ओम्नी मोटर्स रहँदै आएको छ।
वीरगञ्जबाट व्यवसाय सुरु गरेको कम्पनीले अहिले देशभर आफ्नो कारोबार विस्तार गरिसकेको छ।
ओम्नी समूहका निर्देशक उदयन काब्राका अनुसार कम्पनीले अब ईभी कमर्सियल सवारी क्षेत्रमा पनि व्यवसाय सुरु गरेको हो।
उनले चेरी एन्ड वान्डा बस कम्पनीसँग विशेष साझेदारी गरेर नेपालमा ईभी सवारी भित्र्याउने योजना रहेको बताएका छन्।
कम्पनीले चेभो ईभी भ्यान र वान्डाका सिटी तथा इन्टरसिटी लक्जरी ईभी बस आयात गरेर बिक्री गर्ने तयारी गरेको छ। साथै किटोन मोटर्सका विद्युतीय भ्यान र माइक्रोबस पनि नेपाल ल्याउने योजना रहेको बताइएको छ।
ओम्नी मोबिलिटीले नेपालका लागि किटोन मोटर्सका ईभी भ्यानको आधिकारिक वितरक बनेको दाबी गरेको छ। यसअघि किटोन ब्रान्डका विद्युतीय माइक्रोबस शशिला मोटर्सले आयात गरेर बिक्री गर्दै आएको थियो।
किटोन ब्रान्डको आफ्नै उत्पादन प्लान्ट चीनमा नभई विभिन्न कम्पनीबाट पार्ट्स ल्याएर एसेम्बल गर्ने प्रणाली रहेको बताइन्छ। यस कारण केही उपभोक्ताले स्पेयर पार्टस र सर्भिस पाउन समस्या हुने गुनासो पनि गरेका छन्।
नेपाल अहिले विश्वकै तीव्र रूपमा बढ्दै गएको ईभी बजारमध्ये एक मानिन्छ। विशेषगरी कमर्सियल सवारी क्षेत्रमा विद्युतीय सवारीले ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
काब्राका अनुसार कम्पनीको लक्ष्य नेपालमा भरपर्दो र भविष्यका लागि उपयुक्त इलेक्ट्रिक मोबिलिटी भित्र्याउनु हो। लामो समयसम्म इन्धनबाट चल्ने सवारी बिक्री गरेपछि कम्पनी अब ईभी क्षेत्रमा प्रवेश गरेको हो।
हाल नेपालमा चीनबाट तीन दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय कमर्सियल सवारी आयात भइसकेका छन्। तर धेरै ब्रान्डले समयमै सर्भिस र स्पेयर पार्टस उपलब्ध गराउन नसकेको गुनासो उपभोक्ताबाट आउने गरेको छ।