स्कोडाले आफ्नो एसयुभी कायलाक लाई नेपालको सबैभन्दा चुनौतीपूर्ण सडक मार्ग मानिने मनांग, ढोरपाटन र तीनजुरे क्षेत्रमा सफलतापूर्वक परीक्षण गरेको छ।
यी स्थानहरू ठाडो उकालो–ओरालो, बिग्रिएका सडक, साँघुरा मोड र छिटो बदलिने मौसमका कारण चालकहरूका लागि निकै कठिन मानिन्छन्।
स्कोडाले वास्तविक भौगोलिक अवस्थामै परीक्षण गरेर कायलाक नेपाली सडकका दैनिक चुनौती सामना गर्न सक्षम रहेको दाबी गरेको छ।
उच्च हिमाली मार्गहरूमा लामो उकालो, खुकुलो सतह र अनिश्चित सडक अवस्थाका कारण धेरै गाडीहरू गन्तव्यसम्म सहजै पुग्न संघर्ष गर्छन्।
कतिपय अवस्थामा चालकहरूलाई बीच बाटोमै फर्किनु पर्ने वा वैकल्पिक यातायात प्रयोग गर्नुपर्ने अवस्था आउँछ।
तर स्कोडा नेपालको परीक्षणमा कायलाकले बलियो पावर डेलिभरी र भरपर्दो ट्र्याक्सनका कारण कठिन उकालोहरू स्थिर र विश्वसनीय रूपमा पार गरेको उल्लेख गरिएको छ।
स्कोडाले यो यात्रालाई केवल भौतिक चुनौती मात्र नभई आत्मविश्वास बढाउने अनुभवका रूपमा पनि प्रस्तुत गरेको छ।
मनांगको उचाइ बढ्दै जाँदा स्थिर उकालो चढाइले आत्मविश्वास दिएको, ढोरपाटनको चिसो र एकान्त सडकमा गाडी सहज रूपमा स्टार्ट हुनु सान्त्वनादायी भएको, र तीनजुरेको कुहिरोमा पनि स्थिर नियन्त्रणले चालकलाई भरोसा दिएको कम्पनीको भनाइ छ।
हिमालय टिभीमा प्रसारित “द फ्याब शो” कार्यक्रममा ट्राभल भ्लगर मनिष रुचाल ले ढोरपाटन यात्राको अनुभव साझा गर्दै कायलाकको टर्क र पावरले चुनौतीपूर्ण सडक पनि सहज बनाएको बताएका छन्।
यी परीक्षणले कायलाक नेपालको विविध सडक वातावरणका लागि उपयुक्त रहेको स्कोडाको दाबी छ।
युरोपेली इन्जिनियरिङमा आधारित यो एसयुभीले स्थिर ह्यान्डलिङ, मजबुत ग्रिप र अचानक बदलिने सडक अवस्थामा पनि निरन्तर प्रदर्शन दिने कम्पनीले जनाएको छ।
कायलाकको क्षमतामा यसको अटोमेटिक ट्रान्समिसनको पनि ठूलो भूमिका रहेको बताइएको छ।
विशेषगरी अटोमेटिक भेरियन्टमा प्रयोग भएको “रियल अटोमेटिक” टर्क कन्भर्टर प्रणाली स्मूथ गियर सिफ्ट, टिकाउपन र विश्वसनीयताका लागि चिनिन्छ।
यसले सहरको ट्राफिकमा आरामदायी अनुभव दिन्छ भने राजमार्ग र उकालोमा पनि स्थिर एक्सेलेरेशन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।
“Power for the Peaks” ट्यागलाइनसहित प्रस्तुत स्कोडा कायलाकलाई स्कोडाले नेपालको कठिन सडकका लागि तयार अटोमेटिक एसयुभीको रूपमा अगाडि सारेको छ।
मनांग, ढोरपाटन र तीनजुरेमा देखिएको प्रदर्शनपछि नेपाली ग्राहकबीच यसको विश्वास अझ बढ्दै गएको कम्पनीले जनाएको छ।