अमेरिकाले अरब सागरमा आफ्नो विमानवाहक युद्धपोत नजिक आउँदै गरेको एक इरानी ड्रोनलाई खसालेको जनाएको छ।
अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, अब्राहम लिंकन विमानवाहकबाट उडिरहेको एफ–३५सी स्टिल्थ लडाकु विमान ले आत्मरक्षाका लागि उक्त ड्रोनलाई खसालेको हो। अमेरिकी सेनाले ड्रोनको उद्देश्य स्पष्ट नभएको बताएको छ।
यो ड्रोन इरानी तटबाट करिब ५०० माइल टाढा पुगेपछि अमेरिकी युद्धपोत नजिक आएको थियो।
घटनामा कुनै अमेरिकी उपकरणमा क्षति नभएको र कुनै पनि सैनिक घाइते नभएको जानकारी दिइएको छ।
यो घटना त्यस्तो समयमा भएको हो, जब अमेरिकाले सो क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ र इरानसँगको तनाव पनि बढ्दो छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक सम्झौतामा वार्ता नगरे सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएका छन्।
ड्रोन खसालिएको घटनापछि ह्वाइट हाउसले अमेरिका र इरानबीच यस हप्ताको अन्त्यतिर वार्ता हुने तय भएको पनि जनाएको छ।