सन् २०२६ भारतीय अटोमोबाइल उद्योगका लागि ऐतिहासिक वर्ष बन्ने देखिएको छ।
भारतका ठूला अटो उत्पादक कम्पनीहरूले यो वर्ष ३० भन्दा बढी नयाँ कार मोडेल सार्वजनिक गर्ने तयारी गरेका छन्।
विश्वकै ठूला अटो बजारमध्ये एक बनेको भारतमा स्वदेशी र अन्तर्राष्ट्रिय दुवै ब्रान्डको प्रतिस्पर्धा तीव्र हुँदै गएको छ।
भारतीय बजार साना कारबाट एसयूभी र विद्युतीय सवारी (ईभी) तर्फ सरेपछि सबै प्रमुख कम्पनीको ध्यान भारतमा केन्द्रित भएको छ।
बढ्दो मध्यम वर्ग, अर्थतन्त्रको विस्तार र सरकारी सहुलियतका कारण ईभी र हाइब्रिड गाडीको माग बढ्दै गएको छ।
मारुती सुजुकी, टाटा मोटर्स र महिन्द्रा जस्ता भारतीय कम्पनीहरूका साथै हुन्डाई ले २०२६ मा ठूलो संख्यामा नयाँ मोडेल ल्याउने योजना बनाएका छन्। यसले विशेषगरी एसयूभी र ईभी सेगमेन्टमा कडा प्रतिस्पर्धा ल्याउने देखिन्छ।
मारुती सुजुकीले २०२६ मा भारतमा आफ्नो पहिलो पूर्ण विद्युतीय कार ‘ई भिटारा’ बिक्री सुरु गर्ने तयारी गरेको छ।
साथै वागन आर इलेक्ट्रिक र फ्रंक्स ईभी जस्ता किफायती मोडेल पनि ल्याइनेछ। यी गाडीहरू भारतमा आएपछि नेपाली बजारमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।
टाटा मोटर्स ले ईभी बजारमा आफ्नो पकड बलियो बनाउँदै सियरा ईभी, पन्च ईभी फेसलिफ्ट र लक्जरी सेगमेन्टका नयाँ मोडेल ल्याउने योजना बनाएको छ।
महिन्द्राले पनि ‘बोर्न इलेक्ट्रिक’ प्लेटफर्ममा आधारित ५ नयाँ विद्युतीय एसयूभी सार्वजनिक गर्ने जनाएको छ।
अटो विज्ञहरूका अनुसार २०२६ मा नयाँ मोडेलको संख्या असाधारण रूपमा बढ्दा बजार अझ प्रतिस्पर्धी बन्नेछ।
यसका लागि कम्पनीहरूले अर्बौँ रुपैयाँ लगानी, नयाँ उत्पादन प्लान्ट, ब्याट्री केन्द्र र प्रविधि अनुसन्धानमा खर्च बढाइरहेका छन्।
यसले भारतीय अटो बजारलाई अझ मजबुत बनाउनुका साथै रोजगारीका नयाँ अवसर पनि सिर्जना गर्ने अपेक्षा गरिएको छ।