काठमाडौं । यामाहा एक्सएसआर १५५ ले नाडा अटो शो २०२६ मा आकर्षक बजार प्रतिक्रिया पाएको छ । नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले सार्वजनिक गरेको एक्सएसआर १५५ मा शो अवधिभर ४२८ वटा बुकिङ भएको जनाएको छ ।
१८औँ नाडा अटो शोको ६ दिने अवधिमा भएको उक्त बुकिङसँगै यामाहाले आफ्नो स्टलका लागि ‘बेस्ट स्टल अवार्ड’ समेत हात पारेको छ ।
‘बोर्न टु स्ट्यान्ड अपार्ट’ अवधारणामा प्रस्तुत गरिएको एक्सएसआर १५५ ले रेट्रो डिजाइन र आधुनिक मोटरसाइकलको संयोजनमार्फत दर्शकको ध्यान खिचेको कम्पनीले जनाएको छ । यसमा हेरिटेज–प्रेरित डिजाइन, क्लासिक टियरड्रप फ्युल ट्यांक, राउन्ड एलईडी लाइटिङ र प्रिमियम रोड प्रेजेन्स दिइएको छ ।
नाडा अटो शोमा एक्सएसआर १५५ का लागि विशेष प्रि–बुकिङ व्यवस्था गरिएको थियो । यसमार्फत ग्राहकले नेपालमा मोटरसाइकलको नियमित बिक्री सुरु हुनुअघि नै बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
एमएडब्लू ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नयाँ पुस्ताका नेपाली राइडरले केवल आवतजावतभन्दा पनि आफ्नो पहिचान र अनुभवसँग जोडिने मोटरसाइकल खोजिरहेको बताएका छन् । उनका अनुसार एक्सएसआर १५५ ले यामाहाको पुरानो विरासतलाई आधुनिक पुस्तासँग जोड्ने प्रयास गरेको छ ।