काठमाडौं । विदेशी बजारमा चिनियाँ कारको मूल्यलाई लिएर बढ्दो प्रतिस्पर्धाबीच चीन सरकारले आफ्ना अटोमोबाइल कम्पनीलाई अस्वस्थ मूल्य प्रतिस्पर्धाबाट टाढा रहन निर्देशन दिएको छ ।
चीनको वाणिज्य मन्त्रालय, उद्योग तथा सूचना प्रविधि मन्त्रालयलगायत सम्बन्धित निकायले संयुक्त रूपमा नयाँ मार्गनिर्देशन जारी गर्दै विदेशी बजारमा गाडीको मूल्य निर्धारण गर्दा व्यावसायिक अनुशासन र पारदर्शिता कायम गर्न कार निर्माता कम्पनीहरूलाई आग्रह गरेका हुन् ।
नयाँ व्यवस्थाअनुसार चिनियाँ कार कम्पनीहरूले बजार हिस्सा बढाउने वा प्रतिस्पर्धीलाई पछि पार्ने उद्देश्यले अस्वाभाविक रूपमा मूल्य घटाउन नपाउने भएका छन् । गाडीको मूल्य निर्धारण गर्दा उत्पादन लागतसँगै सम्बन्धित देशको कर तथा ढुवानी खर्चलगायत पक्षलाई समेत आधार बनाउनुपर्नेछ ।
त्यस्तै, ग्राहकलाई सुरुमा एउटा मूल्य देखाएर पछि विभिन्न शीर्षकमा अतिरिक्त शुल्क थप्ने प्रवृत्तिलाई पनि निरुत्साहित गरिएको छ । कम्पनीहरूले विदेशी ग्राहकका लागि स्पष्ट र पारदर्शी मूल्य प्रणाली अपनाउनुपर्ने निर्देशनमा उल्लेख छ ।
विदेशमा कारोबार विस्तार गर्दा स्थानीय नियम पालना गर्नुपर्ने विषयलाई पनि चीन सरकारले प्राथमिकतामा राखेको छ । चिनियाँ अटो कम्पनीहरूले सम्बन्धित देशको कानुन, सवारीसाधनको कनेक्टिभिटीसम्बन्धी व्यवस्था तथा उपभोक्ताको डेटा गोपनीयतासम्बन्धी नियम अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।
सरकारले चिनियाँ ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा केवल सस्तो मूल्यका आधारमा प्रतिस्पर्धा नगरी गुणस्तर, आपूर्ति शृंखलाको स्थायित्व र बिक्रीपछिको सेवामा सुधार गर्न पनि निर्देशन दिएको छ ।
पछिल्लो समय चिनियाँ विद्युतीय तथा अन्य सवारी ब्रान्डले युरोप, अष्ट्रेलिया र अमेरिकालगायत अन्तर्राष्ट्रिय बजारमा तीव्र रूपमा विस्तार गरिरहेका छन् । यस्ता बजारमा चिनियाँ सवारीसाधनमाथि थप कर तथा व्यापारिक प्रतिबन्धको जोखिम बढिरहेका बेला बेइजिङको पछिल्लो निर्देशन आएको हो ।
यस कदममार्फत चीनले आफ्ना अटोमोबाइल कम्पनीबीचको अनियन्त्रित मूल्य प्रतिस्पर्धा कम गर्दै अन्तर्राष्ट्रिय बजारमा चिनियाँ ब्रान्डको दीर्घकालीन र व्यवस्थित विस्तारलाई प्राथमिकता दिन खोजेको देखिन्छ ।