हुन्डाईको नयाँ प्यालिसाइडले २०२६ नर्थ अमेरिकन युटिलिटी भेहिकल अफ द इयर उपाधि जितेको छ।
उत्तर अमेरिकाको प्रतिष्ठित कार, युटिलिटी र ट्रक अफ द इयर निर्णायक समितिले यसलाई उत्कृष्ट युटिलिटी सवारीको रूपमा छनोट गरेको हो।
अमेरिका र क्यानडाका ५० स्वतन्त्र अटोमोटिभ पत्रकार सम्मिलित निर्णायक मण्डलले लामो समयको प्रयोग, तुलनात्मक परीक्षण तथा डिजाइन, प्रदर्शन, प्रविधि, सुरक्षा र मूल्यको आधारमा मूल्याङ्कन गरी प्यालिसाइडलाई विजेता घोषणा गरेको जनाएको छ।
हुन्डाईको प्रमुख तीन पंक्ते एसयूभी प्यालिसाइडलाई हाइब्रिड र पेट्रोल इन्जिन विकल्प, फराकिलो तथा प्रिमियम भित्री डिजाइन, र उन्नत सुरक्षा तथा सुविधा प्रविधिका कारण उच्च प्रशंसा गरिएको छ।
नयाँ हाइब्रिड संस्करणले अधिकतम ३४ माइल प्रति ग्यालन माइलेज र ६०० माइलभन्दा बढी दायरा दिने कम्पनीले जनाएको छ।
साथै शक्तिशाली र सहज ड्राइभ अनुभव दिने इन्जिन विकल्पले प्रदर्शन र इन्धन दक्षताको सन्तुलन कायम गर्छ।
प्यालिसाइडमा साहसिक यात्राका लागि अफ–रोड ट्रिम, लचिलो सिट व्यवस्था, आधुनिक प्रविधि प्रणाली र फराकिलो क्याबिन पनि उपलब्ध छ, जसले यसलाई परिवारमैत्री एसयूभी बनाएको छ।
न्याक्टोय अध्यक्ष जेफ गिल्बर्टले प्यालिसाइडलाई आधुनिक परिवारका लागि उपयुक्त सवारी भन्दै यसको आकार, ड्राइभिङ अनुभव र प्रविधिको प्रशंसा गरेका छन्।
सन् २०२५ मा अमेरिकामा प्यालिसाइडको खुद्रा बिक्री १७ प्रतिशतले बढेको हुन्डाईले जनाएको छ। १९९४ मा स्थापना भएको न्याक्टोय स्वतन्त्र पुरस्कार कार्यक्रम हो, जसलाई अटोमोटिभ क्षेत्रमा निकै विश्वसनीय मानिन्छ।