विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्नो सेवा विस्तार गर्दै याङ्गो एपमार्फत ‘याङ्गो डेलिभरी’ सेवा सुरु गरेको छ।
यस सेवाले काठमाडौँ उपत्यकाभित्र व्यक्ति–व्यक्ति (P2P) र साना तथा मध्यम व्यवसाय (SMEs) लाई लक्षित गरी छिटो, सहज र भरपर्दो पार्सल ढुवानी सुविधा उपलब्ध गराउने उद्देश्य राखेको छ।
अब याङ्गो एप प्रयोग गरेर राइड–हेलिङसँगै डेलिभरी सेवा पनि एउटै प्लेटफर्मबाट लिन सकिनेछ।
याङ्गो डेलिभरीअन्तर्गत प्रयोगकर्ताले मोटो कुरियर (कागजात तथा साना प्याकेज), कार कुरियर (मध्यम आकारका सामान) र कार्गो सेवा (ठूला तथा भारी सामान) गरी तीन प्रकारका ढुवानी विकल्प छान्न सक्नेछन्।
याङ्गोका अनुसार शहरी क्षेत्रमा छिटो र प्रभावकारी ढुवानी सेवाको बढ्दो मागलाई ध्यानमा राखेर यी इन–एप सेवाहरू ल्याइएका हुन्।
दक्षिण एशियाका क्षेत्रीय प्रमुख मोहम्मद अहसान अकबरले साना पार्सलदेखि ठूला सामानसम्म सजिलै एपमार्फत बुक गरेर डेलिभरी गर्न सकिने बताए।
यो सेवा आधुनिक रुटिङ र ब्याचिङ एल्गोरिदममा आधारित छ र प्रयोगकर्ताले पार्सलको लाइभ ट्रयाकिङ पनि गर्न सक्नेछन्।
याङ्गोले आफ्नै सवारी साधन नचलाइ स्थानीय नेपाली यातायात कम्पनीसँग सहकार्य गर्दै अन्तिम माइल डेलिभरीलाई प्रविधिमार्फत थप प्रभावकारी बनाउने जनाएको छ।
याङ्गो ग्रुपले मे २०२५ मा ‘याङ्गो सिटी सर्भिसेस’ एपमार्फत नेपालमा प्रवेश गरेको हो, जहाँ हाल राइड–हेलिङ र डेलिभरी दुवै सेवा उपलब्ध छन्।
Post Views: 173