अमेरिकामा कार महँगो, नीति फेरबदल

अमेरिकामा सन् २०२५ मा नयाँ कारको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेपछि सरकार नीति परिवर्तनतर्फ अघि बढेको छ।

पछिल्ला तथ्यांकअनुसार अहिले अमेरिकामा २० हजार डलरभन्दा कम मूल्यमा कुनै पनि नयाँ कार उपलब्ध छैन

पहिले करिब ४० हजार डलर आसपास रहेको नयाँ कारको औसत मूल्य बढेर ५० हजार डलरभन्दा माथि पुगेको छ।

यसले उपभोक्तामा असन्तोष बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अटोमोबाइल नीतिमा ठूलो परिवर्तन गर्ने घोषणा गरेको हो।

नयाँ नीतिअनुसार ट्रम्प प्रशासनले विद्युतीय सवारी (EV) लाई दिँदै आएको विशेष सहुलियत घटाउने र अघिल्लो सरकारले लागू गरेका कडा वातावरणीय नियमहरू खारेज गर्ने तयारी गरेको छ।

जो बाइडेनको कार्यकालमा ल्याइएको, सन् २०३२ सम्म अधिकांश नयाँ गाडी विद्युतीय बनाउने लक्ष्यसहितको ईभी म्यान्डेट अन्त्य गर्ने निर्णय गरिएको छ।

अब सरकारले उपभोक्तालाई कुनै एक प्रविधि रोज्न बाध्य नपारी पेट्रोल, डिजेल, हाइब्रिड वा विद्युतीय गाडी रोज्ने स्वतन्त्रता दिने जनाएको छ।

सरकारका अनुसार कडा वातावरणीय र इन्धन-दक्षता नियमका कारण कम्पनीहरूले अर्बौँ डलर खर्च गर्नुपरेको थियो, जसले कारको मूल्य बढाएको निष्कर्ष निकालिएको छ।

नियम खुकुलो बनाएपछि प्रति गाडी उत्पादन लागत औसत १,२०० डलरसम्म घट्ने र यसले विशेषगरी मध्यमवर्गीय उपभोक्तालाई सस्तो इन्धन गाडी उपलब्ध हुने विश्वास सरकारको छ।

यससँगै ट्रम्प प्रशासनले ईभी किन्दा पाइने ७,५०० डलर संघीय कर छुट हटाउने वा पुनरावलोकन गर्ने संकेत दिएको छ।

यसको सट्टा अमेरिकामा बनेका जुनसुकै प्रकारका गाडी किन्दा ऋणको ब्याजमा कर छुट दिने नयाँ प्रस्ताव अघि सारिएको छ।

यसले फोर्ड, जीएम र स्टेलेन्टिसजस्ता ‘डेट्रोइट थ्री’ अमेरिकी कम्पनीहरूको उत्पादन बढाउने लक्ष्य लिएको छ।

तर, केही अटोमोबाइल कम्पनी र विज्ञहरूले नीति अचानक फेरिँदा अन्योल बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

विशेषगरी टेस्लाजस्ता ईभी मात्र उत्पादन गर्ने कम्पनीहरू प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

अर्कोतर्फ, केही समूहले भने नियम सरल हुँदा बजारमा प्रतिस्पर्धा बढ्ने भन्दै नयाँ नीतिको स्वागत गरेका छन्।

अमेरिका विश्वको दोस्रो ठूलो कार बजार भएकाले यो नीतिले युरोप, एसिया र भारतजस्ता बजारमा समेत प्रभाव पार्ने आँकलन गरिएको छ।

चीन ईभीमा केन्द्रित भइरहँदा अमेरिका भने आन्तरिक दहन इन्जिन (आईसी इन्जिन) सवारीमै जोड दिनेतर्फ उन्मुख देखिएको छ।

यसको असर नेपाली अटोमोबाइल बजारसम्म पनि पर्न सक्ने विश्लेषकहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *