म्याग्दीको मंगला गाउँपालिका–५ छिसवाङ मा करिब १५ वर्षपछि सडक स्तरोन्नतिको काम सुरु भएको छ।
बेनी–दरवाङ सडकअन्तर्गत वैकल्पिक मार्ग मानिने पोक–सेराफाँट–पिपलबोट–छिसवाङ–खोप्टी–दरवाङ सडकको छिसवाङ खण्डलाई सुधार गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
सडक डिभिजन कार्यालय बागलुङसँग आचार्य–पदमदीप जेभी ले २ करोड ५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी काम अघि बढाएको हो।
खहरेदेखि छिसवाङ हुँदै ओखोलासम्म १.५ किलोमिटर सडकलाई नालीसहित ९ मिटर फराकिलो बनाएर ग्राभेल गर्ने योजना रहेको निर्माण कम्पनीले जनाएको छ। यो काम २०८३ असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसअघि साँघुरो सडकका कारण एकतर्फी मात्र सवारी चल्ने गरेको भए पनि स्तरोन्नतिपछि यातायात सहज हुने स्थानीयवासीले बताएका छन्।
यो सडक मंगला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दाका लागि महत्वपूर्ण हुनुका साथै, मुख्य बेनी–दरवाङ सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने भएकाले यसको रणनीतिक महत्व रहेको छ।