पटक–पटकको बाढीपहिरोले क्षति पुगेको बीपी राजमार्गको स्थायी पुनर्निर्माण करिब दुई महिनाअघि सुरु भइसकेको छ।
काभ्रेपलाञ्चोक र सिन्धुलीका क्षतिग्रस्त खण्डमा तीन स्थानबाट एकसाथ काम भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयले आगामी दुई वर्षभित्र सबै क्षतिग्रस्त खण्डको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।
बाढीले बगाएको सडक सुरक्षित बनाउन विभिन्न स्थानमा आरसिसी पर्खाल, प्लम्प पर्खाल तथा खोलाबाट सुरक्षित दूरीमा सडक संरचना बनाइँदैछ।
डालाबेँसी, मङ्गलटार, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा गर्ने काम पनि अघि बढाइएको छ।
यस वर्ष संरचना निर्माण र सडक सुधारका काम पूरा गरी, आगामी वर्ष कालोपत्रसहित बाँकी काम सम्पन्न गर्ने योजना रहेको कार्यालयले जनाएको छ।
पुनर्निर्माणपछि बीपी राजमार्गलाई दुई लेनको स्तरोन्नत सडक बनाइनेछ।
हाल रहेका पुलसँगै नयाँ पुल थपेर दुई लेनको पुल निर्माण गर्ने तयारी पनि भइरहेको छ। पाँचवटा पुललाई दुई लेनमा रुपान्तरण गर्नेबारे अध्ययन चलिरहेको छ।
कुल २९.५ किलोमिटर क्षतिग्रस्त सडकमध्ये केही खण्ड निजी निर्माण कम्पनीहरूले ठेक्कामार्फत निर्माण गरिरहेका छन् भने ३.२ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदानमा बन्नेछ।
यसका लागि जापानले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने सहमति भइसकेको छ।
सम्पूर्ण पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको छ।
बीपी राजमार्ग काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण मार्ग भएकाले यसको सुरक्षित र दीर्घकालीन पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ।