चिसोले घोडेपानी सडक काम स्थगित

चिसो र प्रतिकूल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी जाने सडक स्तरोन्नति कार्य अस्थायी रूपमा रोकिएको छ।

अत्यधिक जाडोका कारण खोल्सामा पानी जम्ने, तुसारो पर्ने, मजदुरको स्वास्थ्यमा असर देखिनुका साथै ढलानमा प्रयोग हुने सामग्री नजम्ने अवस्था बनेपछि काम स्थगन गरिएको हो।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालन भइरहेको यो योजना समुद्री सतहदेखि करिब २,४०० देखि २,८०० मिटर उचाइमा रहेको छ।

कार्यालयका प्रमुख इञ्जिनियरका अनुसार मौसम अनुकूल भएपछि फागुन महिनादेखि पुनः निर्माण कार्य सुरु गरिनेछ।

चित्रेदेखि घोडेपानीसम्मको चार किलोमिटर सडकमा हालसम्म करिब दुई किलोमिटर भाग फराकिलो बनाउने, घुम्ती र ग्रेड सुधार तथा नाली निर्माणको काम सम्पन्न भइसकेको छ।

समग्रमा योजनाको करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ भने बाँकी दुई किलोमिटरमा सडक विस्तार, सुधार र ग्राभेल गर्न बाँकी रहेको छ।

यो योजनाको ठेक्का दुई करोड २३ लाख रुपैयाँभन्दा बढी लागतमा सम्झौता गरिएको हो। चालु तथा आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ।

सडक स्तरोन्नति पूरा भएपछि घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटक आगमन बढ्ने र स्थानीयवासीको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिल क्षेत्र सूर्योदय र हिमाल दृश्य अवलोकनका लागि चर्चित गन्तव्य मानिन्छ, जहाँ वार्षिक हजारौँ विदेशी पर्यटक पुग्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *