Skip to content
सदरमुकाम दमौलीबाट करिब १४ किलोमिटर टाढा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने सडक ढलान र कालोपत्र गरिएको छ।
हालसम्म सो सडकको करिब ९ किलोमिटर भाग पक्की भइसकेको छ।
१४ किलोमिटर लामो सडकमध्ये यसअघि ७ किलोमिटर कालोपत्र भइसकेको थियो। अहिले प्रदेश सरकारको बजेटबाट थप २ किलोमिटर सडक ढलान गरिएको हो।
गण्डकी प्रदेश सरकारको करिब ५ करोड रुपैयाँ लागतमा नाला निर्माण, सडक विस्तार र कालोपत्रको काम अघि बढाइएको छ।
अघिल्लो आर्थिक वर्षको बजेटबाट सुरु गरिएको काम सम्पन्न भएपछि अब करिब ५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए।
ढलान तथा निर्माण कार्यका कारण पछिल्लो एक सातादेखि सो सडक खण्डमा सवारी आवागमन रोकिएको छ।
यस अवधिमा यात्रुहरू केशवटार–कुलुड हुँदै राजमार्ग भएर दमौली आवतजावत गरिरहेका छन्।
दमौली–केशवटार–धरमपानी–बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोड्ने गरी यस सडकलाई चक्रपथका रूपमा विकास गर्ने योजना रहेको छ।
सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्तर्गत विश्व बैंकको करिब ६ करोड रुपैयाँ ऋण अनुदान दोस्रो चरणका लागि स्वीकृत भई प्रक्रिया अघि बढाइएको छ।
यसैबीच, गण्डकी प्रदेश सरकारबाट थप १ करोड रुपैयाँ बजेट पुनः विनियोजन गरिएको छ।
केशवटार मोटरमार्ग स्तरोन्नतिका लागि नगरपालिकाले हालसम्म करिब ४ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताएका छन्।
Post Views: 141