मालिका गाउँपालिकाको दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको मुना जोड्ने सडकअन्तर्गत पर्ने दाङखोलामा बन्ने मोटरेबल पुल पाँच वर्षदेखि अलपत्र परेको छ।
विसं २०७६ जेठ २२ गते पूर्वाधार विकास कार्यालय र इन्द्रेणी–फेवा जेभी पोखराबीच ठेक्का सम्झौता भएको भए पनि अझै काम सुरु भएको छैन। करिब १८ मिटर लामो यो पुल विसं २०७८ जेठ ८ गतेसम्म सम्पन्न हुने योजना थियो।
धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार, पुल नबन्दा मुना, ताकम, गुर्जा, लुलाङ र मुदी गाउँका बासिन्दालाई दैनिक आवतजावतमा कठिनाइ भएको छ।
पहिले गाउँपालिकाले बनाएको अस्थायी पुल जीर्ण भएपछि सडक यातायात अवरुद्ध भएको हो।
पूर्वाधार विकास कार्यालयका अनुसार, निर्माणस्थल म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रस्तावित बाँध क्षेत्रमा परेकाले काम सुरु गर्न ठेकेदारले अनुमति पाएनन्।
पछि बाढीका कारण पुलको दूरी बढाउनुपर्ने स्थिति आयो र अन्ततः ठेकेदार अदालत पुगेपछि काम ठप्प भयो।
कार्यालयले पेस्कीका रुपमा दिइएको ३३ लाख रुपैयाँ ठेकेदारको धरौटीबाट फिर्ता गरेको छ।
प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार, पुल नबन्नुको मुख्य कारण जलविद्युत् आयोजनाकै जटिलता हो।
उनले भने, “सम्झौताको समयमा काम गर्न दिइएको भए पुल निर्माण भइसक्थ्यो।”
हाल जलविद्युत् आयोजनाको बाँध स्थल इल्पुमा सारिएको छ।
आयोजनाका नयाँ निर्देशक तेजेन्द्र रोकाले आफू नयाँ भएकाले पुरानो सहमतिको जानकारी नभएको बताए।
जबकि तत्कालीन निर्देशक हर्कमान मगरले सरकारी पक्षबाट पुल नबने आयोजनाले नै निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए।
Post Views: 115