देशभरको बाढी–पहिरोका कारण विभिन्न राजमार्ग र सडकखण्ड अझै अवरुद्ध छन्।
नेपाल प्रहरीका अनुसार बीपी राजमार्गमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेशी तथा सिन्धुलीको नेपालथोक खण्ड पहिरोले बन्द छन्।
कोशी राजमार्गमा सङ्खुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा पहिरोले सवारी सञ्चालन रोकिएको छ।
पासाङल्हामु राजमार्गको रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोले सवारी रोकिएको छ।
त्यस्तै रसुवागढी–चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्याउँदा आवागमन अवरुद्ध भएको छ।
मेची राजमार्ग (इलाम खण्ड), तमोर कोरिडोर र कर्णाली कोरिडोर (हुम्ला र कालिकोट खण्ड) पनि पहिरोका कारण बन्द छन्।