बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि यातायातका लागि खुला भएको छ।
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गएको पहिरोका कारण आइतबार बिहानदेखि ७६ किलोमिटर दूरीको सडक अवरुद्ध भएको थियो।
नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरी ठूला ढुङ्गा फुटाइए र डोजरको सहायताले पहिरो पन्छाएर राति १० बजे सडक खुलाइएको हो।
घाँसा प्रहरी चौकीका प्रमुख मीनबहादुर खत्रीका अनुसार सडक खुल्ने साथ रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
सडक अवरुद्ध हुँदा कोरलानाकाबाट सामग्री ल्याइरहेका कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेका ट्रक घाँसामै रोकिएका थिए।
सोह्रश्राद्धको पितृ तर्पणका लागि मुस्ताङको कागबेनीमा पुगेका तीर्थयात्री, स्थानीयवासी र पर्यटकहरू समेत रोकिएका थिए।
सिन्धुपाल्चोकको तातोपानी र रसुवाको नाका बन्द भएपछि दसेका लागि नेपाली बजारमा आवश्यक सामग्री मुस्ताङको कोरलानाकाबाट ल्याउन थालिएको थियो, जसले गर्दा सडकमा सवारीसाधनको चाप पनि बढेको थियो।